लुम्बिनी प्रदेशमा घरमै सुत्केरी गराउनेको संख्या बढ्दो

कार्तिक २०, २०७७ | बुटवल

कोरोना संक्रमणका कारण स्वास्थ्य संस्थाहरुले सहज सेवा नदिंदा लुम्बिनी प्रदेशमा घरमै सुत्केरी गराउनेको संख्या बढेको छ । जसका कारण मातृशिशु स्वास्थ्य जोखिममा परेको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गत चैत ११ गतेदेखि असार मसान्त सम्मको अवधिमा २१ आमा र ५१ जना नवजात शिशुको मृत्यु भएको छ । 

निर्देशनालयका निर्देशक डा. विनोदराज गिरीले जोखिम मोलेर घरमै सुत्केरी गराउने हुँदा अहिले पनि आमा र शिशुको मृत्युका घटना बढीरहेको बताउनुभयो । प्रदेश सरकारले सार्वजनिक गरेको वस्तुस्थिति विवरण २०७६ अनुसार प्रदेशका २५ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । 

कोरोना संक्रमण सुरू भएपछि घरमै प्रसूति हुने महिला ४० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक डा. गिरीको भनाई छ । सुरक्षित प्रसूति सेवा दिन लुम्बिनी प्रदेशमा ३ सय ६३ वर्थिङ सेन्टर सञ्चालित छन् । 

यस बाहेकका ३२ वटा स्वास्थ्य संस्थामा आधारभूत र १४ वटामा बृहत आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा केन्द्र छन् । तर, अधिकांशमा स्वास्थ्य संस्थामा कोरोना संक्रमणका कारण सहज रूपमा प्रसूति सेवा उपलब्ध हुन नसकेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो ।


प्रतिक्रिया