प्रदेश सरकारको बेवास्ताका कारण चरिकोट अस्पताल संकटमा

चैत्र ३०, २०७७ | दोलखा

बागमती प्रदेश सरकारले व्यवस्थापनमा चासो नदिएका कारण ५० शय्या क्षमताको दोलखास्थित चरिकोट प्रदेश अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । गत मंसिर १८ गते बागमती प्रदेश सरकारले आफ्नो मातहातमा ल्याएको चरिकोट अस्पतालमा कर्मचारी व्यवस्थापन हुन नसक्दा संकटमा परेको हो । 

भीमेश्वर नगरपालिकाले व्यवस्थापन गर्दै आएको अस्पतालमा आर्थिक संकट चुलिएपछि बन्द हुने अवस्थामा पुगेको हो । प्रदेश सरकारले अस्पतालको जिम्मा लिएपनि ५ महिना बितिसक्दा समेत कर्मचारी पठाएको छैन । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक सहित ५९ जनालाई नगरपालिकाले तलब भत्ता दिंदै आएको छ । 

नगरपालिका नै आर्थिक संकटमा परेपछि अस्पताल बन्द गर्नुको विकल्प नरहेको नगर प्रमुख भरतबहादुर केसीले बताउनुभयो । मासिक २५ लाख रुपैयाँ भन्दा बढी खर्च गरेर अस्पताल सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो । 

यसअघि ९० प्रकारका औषधि नि:शुल्क दिंदै आएको सो अस्पतालले हाल ५८ थरीका औषधि मात्र नि:शुल्क उपलब्ध गराउँदै आएको छ । व्यवस्थापनमा प्रदेश सरकारले चासो नदिएकाले अस्पतालको भविष्य अन्योलमा परेको निर्देशक डा. विनोद दंगालले बताउनुभयो । 

कर्मचारी समायोजनको काम भईरहेकाले एक दुई सातामै कर्मचारी पठाईने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । 

प्रवक्ता सेढाईले प्रदेश मातहातको अस्पताल कुनै पनि हालतमा बन्द हुन नदिने बताउनुभयो । प्रदेश मातहातमा ल्याउने अन्तिम तयारी भईरहेकाले स्तरोन्नति गर्ने गरी प्रक्रिया अघि बढेको र तत्काल सबै पक्षसँग समन्वय गरी बजेटको व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया