सप्तरीको राजगढमा एउटै वडाका ४९ जनामा कुपोषण

चैत्र १२, २०७८ | राजविराज

सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा ५ वर्ष मुनीका बालबालिकामा कुपोषण र क्षयरोगको डरलाग्दो अवस्था देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको पोषण पुनस्र्थापना गृहकी प्रबन्धक रश्मी झाका अनुसार बिहीबार गरिएको परीक्षणमा राजगढ–४ का ५ वर्ष मुनीका ४९ जना बालबालिका कडा खालको कुपोषण देखिएकोमा ती मध्ये २० जनामा क्षयरोग पुष्टी भएको हो । 

पोषणका क्षेत्रमा राजगढमा सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्था कार्यरत रहेको र लाखौँ रुपैयाँ बर्सेनि खर्च हुँदै आएको छ । सुरुमा ती बालबालिकाको तौल, उचाई लगायतको परीक्षण एक गैर सरकारी संस्थाले स्थानीयस्तरमै गरेको थियो । सो परीक्षणमा कुपोषित देखिएका वालवालिकालाई थप परीक्षणका लागि राजविराज ल्याइएको थियो ।

‘एउटै वडाबाट ल्याईएका ४९ जनामै कडाखालको कुपोषण देखियो’ पोषण गृह प्रबन्धक झाले भन्नुभयो, ‘तत्काल गृहमा राखेर उपचार गर्नुपर्ने अवस्था छ, । कुपोषित देखिएका ती पाँच वर्ष मुनीका ४९ बालबालिका मध्ये २० जनामा क्षयरोग नै पुष्टी भयो ।’ एउटै वडामा कुपोषणको यस्तो रुप तथा क्षयरोगको यो अवस्था सामान्य नभएको भन्दै उहाँले बालबालिकाको तौल पनि अत्यन्तै कम रहेको बताउनुभयो ।

गजेन्द्रनारायण सिंह अस्पतालमा बालरोग विशेशज्ञ डा. सरोज कुमार यादवले ती बालबालिकामा देखिएको कुपोषण र क्षयरोगको समस्या जटिल रहेको बताउनुभयो । समयमा उपचार नगरिए जटिलता थपिन सक्ने भन्दै उहाँले खानपानमा पौष्टिक आहारको कमीका कारण यस्तो अवस्था आएको हुन सक्ने बताउनुभयो । कुपोषित देखिएका ४९ जना मध्ये अधिकांश बालबालिका दलित समुदायका छन् ।

गृह प्रबन्धक झाका अनुसार उनीहरुलाई तत्कालै पोषण पुनस्र्थापना गृह र अस्पतालमा राखेर उपचार गर्नुपर्नेमा बिहीबार अस्पतालमा परीक्षण पश्चात क्षयरोग लागेको पुष्टी भएपछि फेरि घर फर्किएका छन् । 

‘केही बालबालिकाका अभिभावकले एक दुई दिनमा पोषण पुनस्र्थापना गृह ल्याउने बताएका छन्,’ गृह प्रबन्धक झाले भन्नुभयो, ‘केहीले घरमा विचार गर्ने बताएर गए ।’ जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले राजगढ–४ मा ५ वर्ष मुनीका बालबालिकमा देखिएको क्षयरोगको संख्या चुनौतीपूर्ण रहेको बताउनुभयो । ‘यो सिरियस अवस्था हो,’ यादवले भन्नुभयो, ‘यसको नियन्त्रण र न्यूनिकरणका लागि तत्काल प्रयास सुरु गरिनुपर्छ ।’

एउटै वडाका ४९ जना बालबालिकामा कडाखालको कुपोषण र ती मध्ये २० जनामा क्षयरोग देखिएको राजगढ गाउँपालिकामा बर्सेनि पोषण सुधारका नाममा लाखौँ रकम खर्च हुँदै आएको छ । 

पालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र यादवका अनुसार चालू आर्थिक वर्षमा पालिकाले पोषण कार्यक्रममा १० लाख रुपैयाँ छुटयाएको छ भने बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सशर्त अनुदानको २६ लाख रुपैयाँ पोषण क्षेत्रमा छ । यसका अतिरिक्त राजगढ गाउँपालिकामा युनिसेफ, पोषण सुधार आयोजना, डब्लुएचएस लगायत सरकारी र गैरसरकारी संस्था पोषण सुधारका लागि क्रियाशिल छन् । 


प्रतिक्रिया