सुरक्षित गर्भपतन गर्ने महिलाको संख्या बढ्दै

जेष्ठ ५, २०८० | लुम्बिनी

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० की रमिला केसी (नाम परिवर्तन) ले केही दिन अघि सुरक्षित गर्भपतन गराइन् । उनका एक छोरा र एक छोरी छन् । विदेशमा रहेका श्रीमान घर आएका बेला भएको सम्पर्कबाट गर्भ बस्न गएको थियो । 'श्रीमान धेरैपछि घर आएकाले साधन प्रयोग गर्नुभएन’, उनले भनिन्, ‘नचाहँदा नचाहँदै बसेको गर्भ भएकाले स्वास्थ्य संस्थाबाटै गर्भपतन गराएँ ।’

उनले श्रीमानको मन दुखाउन नचाहेर साथ दिँदा गर्भ बस्न गएको बताइन् । यसले आफ्नो स्वास्थ्यमा भने अप्ठ्यारो बनाएको उनले बताइन् । स्वास्थ्यकर्मीले आफूलाई राम्रो परामर्श दिई गर्भपतन गरिसकेपछि कसरी स्वास्थ्यको हेरचाह गर्ने भन्ने बारे बताइदिएकाले सोही अनुसार आफ्नो ख्याल राखिरहेको बताइन् ।

सन्तान नभए फेरि जन्माए पनि केही नहुने भएपनि भइसकेकालाई गर्भपतनको सुविधा हुनु राम्रो उपाय भएको उनको भनाई छ । बैशाखको पहिलो साता लुम्बिनी सांस्कृतिक नगरपालीका–४ की ४० वर्षीया साधना विक (नाम परिवर्तन) ले स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा लिइन् ।

उनले अनिच्छुक रुपमा गर्भ बसेकाले सुरक्षित गर्भपतन गरेको बताइन् । ‘२ छोरी, एक छोरा छन्’, उनले भनिन्, ‘अब सन्तान मात्र जन्माएर पाल्न सकिँदैन, पहिला डिपो लगाएकी थिएँ, धेरै मोटाएर निकालेँ, अहिले बिना सुरक्षा यौन सम्पर्क गर्दा बच्चा बस्यो ।’

पुरुषले परिवार नियोजनका साधन प्रयोग गर्नै नखोज्ने भएकाले पनि आफू जस्तै महिलाहरुलाई समस्या पर्ने गरेको उनले बताइन् । श्रीमान रिसाउने पीरले आफ्नो शरीर कमजोर बनाइरहनुपर्ने बाध्यता रहेको उनको देखेसो छ । ‘मलाई त प्रशस्त पौष्टिक आहार पनि पुग्दैन’, उनले भनिन्, ‘श्रीमानलाई खुसी बनाउँदा स्वास्थ्य नै बिग्रिएको छ ।’

पालिका स्तरीय सूचीकृत स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनको सुविधा छ । छिमेकी पालिकाका समेत गरी गत साउनदेखि चैतसम्म १ सय ३२ जनाले यहाँका आनन्वन साथै सेमरा बजार स्वास्थ्य चौकीमा सेवा लिएको तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केशव प्रसाद भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार २० वर्ष मुनिका ५ तथा २० वर्ष माथिका १ सय २७ जनाले सो सुविधा लिएका हुन् । ‘हामी कहाँ २ वटा सूचीकृत स्वास्थ्य चौकीमा गर्भपतनकै लागि जना स्वास्थ्यकर्मी तालिम प्राप्त हुनुहुन्छ’, भट्टराईले ‘सुविधा दिइने भएपनि परामर्श समेत गरिरहेका हुन्छौं ।’

गर्भपतन गरेका महिलामा पछि अर्को बच्चा इच्छाएमा नबस्ने, उच्च रक्तश्राप हुने, १० हप्ता भन्दा बढीको भएर स्वास्थ्यकर्मीलाई झुटो बोलेको भए जटिल स्वास्थ्य समस्या समेत देखा पर्न सक्ने भट्टराईले बताउनुभयो । विदेश भएका मानिस घर आउँदा परिवार नियोजनको साधन प्रयोग गर्नुपर्ने सल्लाह नै स्वास्थ्यकर्मीले दिने गरेको भन्दै उहाँले उक्त काम नगरेमा स्वास्थ्यमा देखा पर्न सक्ने समस्या बारे प्रष्ट जानकारी दिई गर्भपतन गरिदिने बताउनुभयो ।

गर्भपतन सुविधा भएपनि महिलाको स्वास्थ्य अवस्थालाई पछि असर पनि गर्न सक्ने समस्या देखिने गरेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विष्णु गौतमले बताउनुभयो । मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी, औषधि तथा सर्जिकल गरी गर्भपतन सेवा उपलब्ध हुने उहाँले बताउनुभयो ।

मेडिकल टर्मिनेशनमा चिकित्सकको रेखदेखमा गर्भपतन हुने गर्छ । यसमा गाइनाक्लोजिस्ट वा एमटीपी सम्बन्धी तालिम लिएकाहरुले गराउन सक्छन् । गर्भपतन गराउन ६ देखि ८ साताको बीचमा महिलालाई औषधि दिइने गरेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गौतमले बताउनुभयो ।

कानूनी रुपमा भने १० हप्तासम्मकोलाई औषधिको माध्यमबाट सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था छ । ‘यसको लागि चिकित्सकले औषधि कति समयको अन्तरालमा लिनुपर्छ भन्ने सल्लाह दिन्छन्’, गौतमले भन्नुभयो, ‘औषधि प्रयोग गरेकाहरुलाई १५ दिनपछि अल्ट्रासाउण्ड गरेर हेर्दा सो क्रममा पाठेघरमा कुनै पदार्थ बाँकी रहेको फेला परेमा अघिल्लो फ्रक्रिया दोहर्‍याइन्छ र त्यसलाई शल्यत्रियाबाट बाहिर निकाल्ने गरिन्छ ।’

त्यस्तै, शल्यक्रियाबाट गर्भपतन गराउँदा महिलालाई बेहोस पारिन्छ । आठ साता भन्दा बढीको गर्भ रहेमा चिकित्सकद्वारा शल्यक्रिया मार्फत गर्भपतन गरिन्छ । असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्न सक्ने भएकाले अनिइच्छुक रुपमा गर्भ बसेमा सुरक्षित रुपमा गर्भपतन गराउनु पर्ने चिकित्सक बताउँछन् ।


प्रतिक्रिया