डेंगीका कारणले धरानमा थप दुई जनाको मृत्यु

श्रावण २८, २०८० | सुनसरी

डेंगीका कारणले सुनसरीको धरानमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । धरान १५ की ४६ बर्षीय एक महिलाको साउन १७ गते र धरान ११ का २१ बर्षीय पुरुषको साउन १८ गते मृत्युभएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो ।

दुबै जनाको १० दिनअघिनै मृत्यु भएपनि गएराती मात्रै डेंगीको कारणले मृत्यु भएको पुष्टी भएको मेहताले बताउनुभयो । उनीहरु दुबै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । हालसम्म धरानमा मृत्यु हुनेमा १ जना उदयपुरको कटारी नगरपालिकाकी महिला र बाँकी सबै धरानका हुन् । झण्डै १० हजारभन्दा बढी डेंगी संक्रमित रहेको धरानमा परीक्षण गर्नेमध्ये अहिले ७१ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि हुने गरेको छ । 


प्रतिक्रिया