राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पढाई सुरु

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययनको शुरुवात कार्यक्रममा सहभागी विद्यार्थी र स्वास्थ्यकर्मी । तस्बिर : दुर्गालाल केसी/ रेडियो कान्तिपुर 

वैशाख ८, २०८१ | दाङ

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन सुरु भएको छ । प्रतिष्ठानमा पश्चिम क्षेत्रमै पहिलोपटक एमडी तहको पठनपाठन सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले दाबी गर्नुभयो । 

प्रतिष्ठानले शुक्रबार घोराहीमा एक कार्यक्रम आयोजना गरी पोष्ट ग्राजुएट रेसिडेन्सीका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरलाई स्वागत गरेको थियो । 

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका लागि निर्धारण गरेको ४ वटा सिटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु विद्यार्थीका रुपमा भर्ना भएका हुन् । प्रतिष्ठानका उपकुलपति लामिछानेले एमडी जीपीमा २, गाईनोकोलोजीमा १ र अर्थोपेडिकमा १ जना विद्यार्थी भर्ना भएको बताउनुभयो । 

प्रतिष्ठानमा गत वर्षदेखि बीएनएस नर्सिङ र बीएससी नर्सिङ तहको पठनपाठन हुँदै आएको छ । कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन मगरले प्रतिष्ठानले पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवाका साथै शैक्षिक कार्यक्रम सञ्चालन गर्नु ठूलो उपलब्धी भएको बताउनुभयो । 

उहाँले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा बिस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्य अनुसार प्रतिष्ठान अघि बढेको बताउनुभयो ।


प्रतिक्रिया