७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुुरु

वैशाख १६, २०८१ | काठमाडौं

सरकारले विभिन्न ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुुरु गरेको छ ।

सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य अनुरुप औषधि सेवन अभियान सञ्चालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सञ्चालन हुनेछ ।

यसअघि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने सरकारी लक्ष्य थियो । यद्यपि, अझै केही जिल्लामा यसको जोखिम कायमै छ ।

हात्तीपाइले रोगको संक्रमण भएका व्यक्तिहरुमा खुट्टा सुन्निने समस्याका साथै हाइड्रोसिल र अपाङ्गतासमेत देखापर्ने चिकित्सकहरु बताउँछन् ।

हात्तीपाइले रोग विरुद्धको औषधि सुरक्षित रहेकाले सबैले नियमीत रुपमा सेवन गर्न सरकारले अपिल समेत गरेको छ ।


प्रतिक्रिया