सरकारले ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

वैशाख ६, २०८१ | काठमाडौं

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै रोगबाट सुरक्षित रहन नियमित खोप लगाउन आग्रह गरेको छ । 

स्वास्थ्य मन्त्रालयले यसवर्ष ५ वर्ष मुनिका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाउने लक्ष्य राखेको छ । यस्तै, एक वर्ष भन्दा माथिका २९ लाख बालबालिकालाई जुकाको औषधि प्रदान गर्ने मन्त्रालयले जनाएको छ । 

खोप लगाउन छुटेकाले नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन पनि मन्त्रालयले सूचना मार्फत आग्रह गरेको छ । 

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा निःशुल्क खुवाउन थालेको हो । 

बालबालिकाको लागि भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रमको निरन्तरताले ५ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु २३ प्रतिशतले घटेको दाबी गरिएको छ । 

सो कार्यक्रमले बालबालिकालाई विभिन्न रोगबाट बचाउने चिकित्सकले बताएका छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार भिटामिन ‘ए’को कमीले दृष्टिविहीन हुनुका साथै बालबालिकामा दादुरा र झाडापखाला जस्ता रोग लाग्ने सम्भावना रहन्छ ।


प्रतिक्रिया