मणिपाल अस्पतालका डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग

रेडियो कान्तिपुर संवाददाता

आश्विन ९, २०८० | पोखरा

पोखराको मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै आवासीय चिकित्सक र इन्टर्नहरुले सम्पूर्ण सेवा बन्द गरेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको हिजो अस्पतालमा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि कुटपिटमा गरेका थिए ।

आवासिय चिकित्सकमाथि कुटपिट भएको भन्दै चिकित्सक र इन्टर्नले सबै सेवा ठप्प पारेका हुन् । मिर्गौला रोगी दुरालाई आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । हिजो उनलाई आकस्मिक कक्षबाट आईसीयूमा भर्ना गरिएकोमा मृत्यु भएको थियो ।

दुराका आफन्तले मृत्युको कारणबारे सोध्दा कुनै जानकारी नदिएको भन्दै उपचारमा संलग्न आवासीय चिकित्सक अनिल शाहमाथि हातपात गरेका थिए । कुटपिटको आरोपमा पोखरा–५ का विनय गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया