बागमती प्रदेशले बाढी पहिरोले क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्ने

पुस १९, २०८१ | मकवानपुर

गत असोज ११ र १२ गतेको बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि वाग्मती प्रदेश सरकारले आवश्यक बजेट निकासा गर्ने जनाएको छ ।

प्रदेश सरकारको आज हेटौंडामा बसेको मन्त्रिपरिषद्को वैठकले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माण गर्न १५ करोड २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् प्रभावित हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकका लागि ११ करोड २५ लाख रुपैयाँ र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्थपन गर्ने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार कुलेखानी सिस्नेरी सडक मर्मतका लागि ५० लाख रुपैयाँ, कुलेखानी महालक्ष्मी खोला फाखेल खण्ड मर्मतका लागि २५ लाख रुपैयाँ तथा सिमखोलमा बेलिब्रिज राख्न २ करोड रुपैयाँ बजेट व्यवस्था गरिने भएको हो । 


प्रतिक्रिया