बन्ध्याकरण गर्नेलाई निःशुल्क खाना र यातायातको व्यवस्था

फाल्गुन ८, २०८० | डोटी

डोटीको केआईसिंह गाउँपालिकाले स्थायी बन्ध्याकरण गर्नेलाई प्रोत्साहन स्वरुप विभिन्न सुविधा उपलब्ध गराउने भएको छ । 

स्थायी बन्ध्याकरण गर्नेलाई प्रोत्साहनको रुपमा निःशुल्क खाना, न्यानो लुगा तथा एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । 

दुर्गामाण्डौ स्वास्थ्य चौकीमा सम्पन्न परिवार नियोजन सम्बन्धी शिविरमा १८ जनाले स्थायी बन्ध्याकरण गरेका थिए । 

स्वास्थ्य कार्यालयको आयोजना तथा नेपाल परिवार नियोजन संघ कैलालीको सहकार्य तथा केआईसिंह गाउँपालिकाको समन्वयमा आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सम्बन्धी विभिन्न स्थायी बन्ध्याकरणको शिविर सञ्चालन गरिएको थियो । 

केआईसिंह गाउँपालिकामा सम्पन्न बन्ध्याकरण शिविरमा ७ जनाले मिनिल्याप, ३ जनाले भ्यासेक्टोमी, ४ जनाले आईयूसीडी तथा ४ जनाले ईम्प्लान्ट लगाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । 

आइतबार बोगटान फूडसिल गाउँपालिकाको चवरा चौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको प्रमुख मलासीले बताउनुभयो । 

अशिक्षा र जनचेतनाको अभावले स्थायी बन्ध्याकरण गर्नेको संख्या न्यून रहेकाले गाउँपालिकाकाले प्रोत्साहनका लागि यातायात, खाना र न्यानो लुगाको प्रबन्ध गरेको स्वास्थ्य शाखा प्रमुख नवीन माझीले बताउनुभयो । 

बन्ध्याकरण गर्नेलाई दुई छाक खाना तथा खाजा र न्यानो लुगाको रुपमा कम्बल हस्तान्तरण गर्नुका साथै बन्ध्याकरण गरेकालाई घरसम्मै पालिकाको एम्बुलेन्समा पुर्‍याइएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया