इटहरी अस्पतालमा डायलासिस मेसिन एक वर्षदेखि अलपत्र

असार २, २०८१ | सुनसरी

सुनसरीको इटहरी अस्पतालको डायलासिस मेसिन विगत एक वर्षदेखि अलपत्र परेको छ । रोटरी क्लब अफ इटहरीले एक वर्ष अघि नै ६७ लाख रुपैयाँ बराबरको तीन थान डायलासिस मेसिन खरिद गरी हस्तान्तरण गरेपनि सेवा अझै सुरु हुन सकेको छैन । 

डायलासिस सेवाको अभावमा नगरबासी स्वास्थ्य उपचार पाउनबाट वञ्चित भएका छन् । नगरमा रहेको एकमात्र सरकारी अस्पतालमा आइसीयू, भेन्टिलेटर सहित डायलिसिस सेवा उपलब्ध हुँदा मिर्गौला रोगीहरुलाई उपचारका लागि विराटनगर र धरान धाउनुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको थियो । 

अस्पतालले रोटरी क्लब अफ इटहरीले हस्तान्तरण गरेको डायलासिस मेसिन सञ्चालनको लागि आवश्यक जनशक्तिको रुपमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेपनि सञ्चालनमा ढिलाई भएको हो । 

रोटरी क्लबले अस्पताललाई डेढ वर्षअघि नै डायलासिस सेवा सुरु गर्नका लागि सबै तयारी गरी आग्रह गरेपनि जनशक्ति अभावमा काम अघि बढ्न सकेको थिएन । 

मेसिन सञ्चालनका लागि एक वर्षअघि जडानका सम्पूर्ण प्रक्रिया पूरा गरी क्लबले अस्पताललाई मेसिन हस्तान्तरण गरेपनि सेवा सुरु हुन नसक्दा स्थानीय बासिन्दा धरान र विराटनगर पुग्नुपर्ने बाध्यता छ । 


प्रतिक्रिया