सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

भाद्र १८, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिन बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । 

प्रवक्ता डा. बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरुमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत छन् । 

सरकारले अधिकांश निकायबाट सार्वजनिक बिदामा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासोका आधारमा पर्व विदा, जात्रा विदा, सार्वजनिक विदा र जन्मजयन्ती विदाका दिन पनि बहिरंग सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।


प्रतिक्रिया