एक्लिए माधव नेपाल

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | काठमाडौं

काठमाडौं, भदौ ३ । सत्तारुढ नेकपाभित्र यसैसाता भएका दुई बैठकका निर्णयले विवाद चुलिएको छ ।

वरिष्ठ नेता माधव नेपाल आफूलाई ‘कर्नर’ मा पार्न अन्य सबै नेताले गठजोड गरेको निष्कर्ष निकाल्दै झनै चिढिएका छन् । एकताको काम सक्दा नसक्दै विशेषगरी पूर्वएमाले समूहमा विवादको खाडल गहिरिएको छ ।

शुक्रबारको बैठकले विधानमै नभएको ‘उपाध्यक्ष’ पद सिर्जना गर्दै त्यसमा वामदेव गौतमलाई लैजाने निर्णय ग¥यो । आइतबारको बैठकले वरिष्ठ नेताहरुको वरियता हेरफेर गर्दै नेता नेपाललाई घटुवा र झलनाथ खनाललाई बढुवा गर्यो ।

सचिवालय बैठकमा एउटा कर्नरमा परेजस्तो देखिए पनि पूर्वएमालेमा रहँदाको उनको पृष्ठभूमि हेर्दा कमजोर चाहिँ छैनन् । स्थायी समितिमा नेपालको पक्षमा रहेका नेताहरु ओली वा दाहालको समूहमा ढल्किएका छैनन् । केन्द्रीय समितिमा धेरै नेता नेपाल पक्षका छन् ।

‘विगतको शक्ति सन्तुलन कमजोर भयो भन्ने सोचिएको छ भने त्यो होइन, बरु झन दह्रो भएको छ,’ नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले भने ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया