राष्ट्रियताको बिषयमा राप्रपाले बार्गेनिङ गर्दैन : राप्रपा सांसद राजेन्द्र लिङदेन

जेष्ठ २४, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 6 June 2020 | 24 Jestha 2077 

राप्रपाले राष्ट्रियताको बिषयमा पार्टीगत मागलाई लिएर बार्गेनिङ नगर्ने स्पष्ट पारेको छ । मुलुकको बास्तविक नक्सासहित निशान छाप परिमार्जनका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयकमा राप्रपाले पूर्ण समर्थन गर्ने बताएको हो । सरकारले संसदमा विधेयक पेस गरेसँगै प्याकेजमै संशोधन हुनु पर्ने मागसहित बिभिन्न दलले गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाईनर्समा आज बिहान कुरा गर्दै राप्रपा सांसद राजेन्द्र लिङदेनले पार्टीको माग यथावत रहेपनि सम्बोधनका लागि उपयुक्त समय नभएको बताउनुभयो । सनातन हिन्दुराज्य, संवैधानिक राजसंंस्था हुनुपर्ने मागबाट राप्रपा पछि नहटेको स्पष्ट पार्दै उहाँले प्रतिनिधिसभामा राप्रपाको उपस्थिति न्युन रहेकाले संविधान संशोधनका लागि उपयुक्त समय नभएको बताउनुभयो ।

निशान छाप परिमार्जनका लागि सरकारले ल्याएको विधेयकमा सम्पूर्ण दलले साथ दिनुपर्नेमा राप्रपा नेता लिङदेनको जोड थियो ।

फरक प्रशंगमा नेता लिङदेनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लिएको रणनीति गलत भएको बताउनुभयो । झापाको कचनकवल, उदयपुरको भुल्के र बाँकेको नरैनापुरमा स्थानीय तहको रणनीति प्रभावकारी रहेकाले केन्द्र सरकारले समेत अनुशरण गर्न आवश्वक रहेको उहाँको भनाई थियो ।


प्रतिक्रिया