कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : नेता गोकर्ण विष्ट

असार १६, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 30 June 2020 | 16 Asar 2077

सरकार परिवर्तनका लागि भारतको सहयोगमा नेपालका नेता र पूर्वमन्त्रीहरु लागिपरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा भित्रै असन्तुष्टि चुलिएको छ । स्थायी कमिटी बैठक जारी रहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको सो अभिव्यक्ति कार्यकारी प्रमुखले दिएको गैरजिम्मेवारपूर्ण रहेको भन्दै नेकपा नेताहरुले जवाफ माग्ने तयारी गरेका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा मंगलबार बिहान कुरा गर्दै स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिका आधार स्पष्ट पार्नु पर्ने बताउनुभयो । सरकार सञ्चालनका लागि पार्टीबाट पूर्ण साथसहयोग रहेको दाबी गर्दै नेता विष्टले सरकार परिवर्तनको सोचमा पार्टी नरहेका बेला उहाँबाट आएको अभिव्यक्तिले दूरगामी असर गर्ने बताउनुभयो । प्रधानमन्त्रीलाई कुनै शंका भए सम्बन्धित व्यक्तिलाई बोलाएर कुरा गर्नुपर्नेमा सिधैं आरोप लगाउनु जायज नभएको नेता विष्टको तर्क थियो । प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता भए ठाउँको ठाउँ कारवाही गर्न पार्टी तयार हुनु पर्ने बताउँदै उहाँले पार्टीका नेताहरुलाई जहिल्यै शंकाको नजरबाट हेर्नु गलत भएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया