जनअपेक्षा पुरा गर्न सरकार र पार्टी दुवै चुक्यो : नेकपा प्रवक्ता श्रेष्ठ

मंसिर ४, २०७७ | काठमाडौं

The Headliners Journalist Anil | 19 November 2020 | 4 Mangsir 2077

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनअपेक्षा अनुसारको काम गर्नसरकार र पार्टी दुवै चुकेको स्वीकार गर्नुभएको छ । सरकार गठन भएलगत्तै चुनावी घोषणापत्र अनुसार पार्टी र सरकारले एजेण्डा तय गर्नुपर्ने भएपनि सत्ता भागवण्डामै केन्द्रीत हुँदा जनअपेक्षामा कुठाराघात भएको श्रेष्ठको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले पार्टीमा विचार र सिद्धान्तमा टेकेर बहस हुन छाडेकाले पछिल्लो विवाद उत्पन्न भएको बताउनुभयो । तत्काल पार्टी फुट्ने सम्भावना भने नरहेको उहाँको भनाई छ । पार्टी फुटाएर कसैलाई फाईदा नहुने भन्दै प्रवक्ता श्रेष्ठले पछिल्ला विवादित विषयमा पार्टीमा थप छलफल गरेर निकास निकाल्ने दावी गर्नुभयो ।

विकसित राजनीतिक घटनाक्रमबारे चिनियाँ राजदुत र प्रधानमन्त्री केपी ओलीबीच भएको भेटबारे आफुलाई जानकारी नभएको उहाँको भनाई छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो, उहाँले कुन सन्र्दभमा चिनियाँ राजदुतसंग भेटवार्ता गर्नुभयो । यो मलाई थाह भएन । पार्टी भित्रको विवादमा केन्द्रीत भएर छलफल भएको हो भने यो पार्टी नीति र मुलुकको सार्वभौमिकता विरुद्ध छ ।

स्पष्ट नीति र विचार सहित पार्टीलाई एकतावद्ध बनाएर लैजाने, चुनावी घोषणापत्र अनुसार सरकारको आगामी एजेण्डा तथा कम्युनिष्ट पार्टीको सिद्धान्त तय गर्ने विषयमा सरकार र पार्टी दुवै चुकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया