विधि, प्रकृया र एकीकरण गर्नुपर्ने कारणबारे स्पष्ट नभएसम्म अब कम्युनिष्ट शक्तिबीच एकता सम्भव छैन : निरज आचार्य

चैत्र ३, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 16 March 2021 | 3 Chaitra 2077

नेकपा एमालेका युवा नेता निरज आचार्यले विधि, प्रकृया र एकीकरण गर्नुपर्ने कारणबारे स्पष्ट नभएसम्म अब कम्युनिष्ट शक्तिबीच एकता सम्भव नरहेको जिकिर गर्नुभएको छ । सर्वोच्चको पछिल्लो फैसलाले नेकपामा समाहित दुई पार्टीलाई पुरानै अवस्थामा फर्काएको र त्यसअघि नेकपा विग्रहको अवस्थामा पुग्दा नेताहरुबीचको सम्बन्धकै कारण पनि त्यो सम्भव नरहेको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै नेता आचार्यले कम्युनिष्ट शक्तिबीच बृहत एकता मुलुककै लागि पनि आवश्यक रहेको तर तत्काल सम्भव नभएको उल्लेख गर्नुभयो । संसदीय निर्वाचनमा कम्युनिष्ट शक्तिहरु फुटेर जाँदाको परिणाम बेहोरेपछि मात्रै एकताको पहलले गति लिने उहाँको आकलन छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोकिने र अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा आफू पक्षीय नेताहरु राखेर गरेको निर्णय फिर्ताका लागि दवाव दिन पनि भेला आयोजना गरिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया