अन्तर्राष्ट्रिय अनुभवका लागि पनि थ्री नेसन्सजस्तो प्रतियोगिताहरु बेलाबेला भइरहन पर्छ : सञ्जिव मिश्र

चैत्र १७, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 30 March 2021 | 17 Chaitra 2077

अखिल नेपाल फुटबल संघ एन्फाका प्रतियोगिता निर्देशक एवं फुटबल विज्ञ सञ्जिव मिश्रले अन्तर्राष्ट्रिय अनुभवका लागि पनि थ्री नेसन्स कप जस्ता प्रतियोगिताहरु समयसमयमा भइरहनु पर्नेमा जोड दिनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले विश्वकप छनोट चरणको तयारीमा रहेको नेपाली टोलीलाई यस्ता प्रतियोगिताहरु अनभुव र एक्सपोजर बटुल्ने माध्यम हुने उल्लेख गर्नुभयो । विगत ९ महिनादेखि अभ्यासरत रहे पनि निकै कम मात्रै खेल खेलेको टोलीलाई यस्ता प्रतियोगितामा हासिल गरेको जितको ठूलो अर्थ रहने मिश्रले बताउनुभयो । यद्यपि बंगलादेशविरुद्धको खेलले मात्रै अन्तर्राष्ट्रिय मान्यता पाएको र फिफा वरियतामा पनि त्यसको नतिजाले अर्थ राख्ने जानकारी उहाँले दिनुभयो ।

नेपाली फुटबल टोलीको एकमात्र समस्या फिनिसिङ रहेको र नयाँ तथा अनुभवी खेलाडीको तालमेलले त्यसलाई कम गर्न सकिने मिश्रको धारणा छ । विदेशी लिगमा खेल्ने नेपाली खेलाडीको प्रदर्शन पनि व्यक्तिपिच्छे फरक रहेकाले विदेशी भूमिको अनुभव भन्दा पनि प्रदर्शनलाई प्राथमिकतामा राखेर खेलाडीको वरियता निर्धारण गर्न सक्नुपर्ने उहाँको सुझाव छ । रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाललाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उहाँले बताउनुभयो । रिजालले यो प्रतियोगितामा स्मरणयोग्य प्रदर्शन गर्न नसकेको मिश्रको बुझाई छ ।


प्रतिक्रिया