रामेछाप डायरी

भाद्र २४, २०७३ | रामेछाप

रामेछाप डायरीमा टीका भट्टको नमस्कार

सामुदायिक मेलमिलापकर्ता

गाउँ तहसम्म सामुदायिक मेलमिलापकर्ता पुगेपछि रामेछापका ग्रामीण क्षेत्रबाट जिल्लामा हुने सामान्य झैझगडा घटेका छन् । मेलमिलापकर्ताले गाउँमा नै मुद्धा मिलाउन थालेपछि प्रहरी र प्रशासनको दैलोमा न्याय खोज्न आउनेको संख्यामा केहि महिना यता कमी भएको हो । प्रहरीकोमा मुद्धा पुगिहाले पनि त्यस्ता मुद्धा पहिले मेलमिलापकेन्द्रमा नै छलफल गराउनका लागि प्रहरीले पठाउन थालेको छ । गाउँमा सचिव समेत नबस्दा यस अघि खानेपानी, कृषि बालीका विषयमा हुने भनाभन जस्ता सामान्य विवाद जिल्लासम्म तानिन्थे । एसिया फाउण्डेसको सहयोगमा तामाकोशी सेवा समितिले जिल्लामा २ सय ९६ जना मेलमिलापकर्तालाइ विवाद समाधानको शिप सिकाएको थियो । त्यस्ता मेलमिलापकर्ताले हाल सम्म जिल्लामा ८४ वटा विवादहरु मिलाएको सामुदायिक मेलमिलाप कार्यक्रमका जिल्ला संयोजक हिमाल ढुंगेल बताउनुभयो ।

तिनलाल सालिक भएको खाली जमिनमा पार्क निर्माण हुँदै 
मन्थली नगरपालिका–२ स्थित तिनलाल सालिक भएको क्षेत्रमा हरियाली पार्क निर्माणको योजना अघि सारीएको छ । सालिक आसपासको झण्डै २० रोपनी जग्गा संरक्षणको अभावमा जथाभावि प्रयोग भइरहेकोले सोको संरक्षण र मनोरञ्जनकालागि व्यवस्थित पार्क निर्माण गर्ने नगरपालिकाले जनाएको छ । पार्क बनाउने स्थल नजिकै रहेको तामाकोशीको किनारमा समेत रुख रोपी मनोरन्जनका लागि खुल्ला गर्ने योजना रहेको मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले वताए । रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी सहित जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधि समेतले पार्क निर्माणका लागि प्रस्तावित सो क्षेत्रको अवलोकन गरेको थियो । 

अलैंची मर्न थालेपछि किसान चिन्तित

नयाँ खालको रोग लागेर अलैंची मर्न थालेपछि व्यवसायिक खेती गर्ने किसान चिन्तित बनेका छन् ।  पातहरु खैरो हुने छिर्का बस्ने र मर्ने रोगबाट सोलुको अँलैची बगानहरु सखाप भएको स्थानीय बताउछन् । यो रोग देखापरेपछि २ देखि ३ बर्षमा बगान स्वाहा हुने किसानहरुको गुनासो छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र मल्लका अनुसार अलैंचीमा देखिएको रोग भन्दा पनि सुख्खा र तुषारोका कारण त्यस्तो समस्या भएको हुन सक्ने अनुमान गरेका छन् । समस्या बढदै गए रोगको पहिचान र उपचारका लागि प्रयास गर्ने मल्लले बताउनुभयो । 


बर्षामा पनि खानेपानी अभाव 

प्रर्याप्त बर्षा नहुँदा सधै खानेपानीको संकट खेपेका रामपुरबासीले बर्षायाममा पनि खानेपानीको संकट खेप्नु परेको छ । नजिकै पानी नभएपछि रामपुरको डाडांगाउँका बासिन्दा एक घण्टा टाढाबाट गाग्रीमा खानेपानी वोक्न वाध्य छन् । स्थानीय रामदास वाइवा भन्छन् हिउंदमा त दुख्ख पाइयो पाइयो, यो पटक त बर्षामा पनि सुविधा भएन । एकातिर खडेरी अर्कोतिर भुकम्पका कारण मुल सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका वासिन्दाले खानेपानी जुटाउन रातभर नसुति हिउंद गुजारेका थिए । बर्षायाम सकिनै लाग्दा रामपुर गाविस सहित जिल्लाका भलुवाजोर, भिरपानी, पकरवास, मझुवा, राकाथुम, मन्थली, भटौली, गेलु, खनिया पानी लगायतका स्थानमा  पानीको मुहान नफुटेको स्थानीय बताउछन् ।  

रामेछाप डायरी आजलाइ सकियो टीका भट्टलाइ विदा दिनुहोस्, नमस्कार ।

 


प्रतिक्रिया