तनहुँ डायरी

वैशाख २४, २०८० | तनहुँ

तनहुँका कृषकद्वारा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १ र २ दुर्गामका कृषकहरुले उत्पादन गरेको मह मलेसिया, बेल्जियम र हल्याण्डमा निर्यात गर्न थालिएको प्राकृति मौरीपालन समूहका सचिव नन्दु थापामगरले बताउनुभयो । उहाँका अनुसार विदेशमा प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा मह बिक्री गरिन्छ । समूहमा आवद्ध ४१ घरधुरीका कृषकले एक वर्षमा करिव ३ हजार किलो मह विदेश पठाउने गरेका छन् ।

जिल्लाको भानु नगरपालिकाले जग्गा चक्लाबन्दी कार्यक्रम सञ्चालन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा भानु–४ को चुँदी कुमालगाउँको करिब १७१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार भानुको चुँदीफाँट, पुर्कोटको बडहरे फाँट, सतिघाट फाँट लगायतका फाँटहरुमा चक्लाबन्दी कार्यक्रम मार्फत थोरै लागतमा बढी उत्पादन लिने योजनासहित कार्यक्रम अगाडि बढाइएको हो ।

जिल्लाको आँबुखैरेनी र ऋषिङ गाउँपालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराइ विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले आँबुखैरेनी–१ को ४० घर भुजेल र ऋषिङ–४ को ६० घरधुरीलाई लक्षित गरी उक्त कार्यक्रम सुरु गरिएको हो । लक्षित घरधुरीलाई बाख्रा, तरकारी टनेल, घार मौरी, बोयर बोका, बङ्गुरको पाठापाठी, कुखुराका चल्ला, हाते ट्रयाक्टर र कुटानी–पिसनी लगायतका सामग्री प्रदान गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार २ पालिकाका लागि २०/२० लाख रुपैयाँ बजेट निकासा भएकोमा गण्डकी प्रदेश सरकारको ९० प्रतिशत र कृषकको १० प्रतिशत लगानी रहेको छ ।

जिल्लाका स्थानीय तहले श्रम स्वीकृति दिन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि सबै स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाएसंगै सर्वसाधारणलाई सहज भएको छ । घरदैलोकै सरकारबाट श्रम स्वीकृति लिन पाउदा निकै सहज भएको बन्दीपुर–१ का रामशरण खड्का बताउँनुहुन्छ । उहाँका अनुसार पहिले पोखरा/काठमाडौं गएर लाईन बस्नुपर्ने, काम नसक्किदा बाँस बस्नुपर्ने समस्यको अन्त्य भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकाबाट हालसम्म ५ जनाले सेवा लिइसकेको रोजगार संयोजक शरणसिंह गुरुङले बताउनुभयो । अन्य पालिकामा पनि श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ ।


प्रतिक्रिया