बर्दिया डायरी

वैशाख २३, २०८० | बर्दिया

बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण गुलरिया अन्तर्गत पछिल्लो पटक मानपुरटपरा, धनौरा, टेपरी, सानो डाँफे र शंकरपुरमा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) स्थापना भई सुरक्षा बल खटिइसकेका छन् । राजापुर र कण्ठपुरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २ वटा गुल्ममा सुरक्षा बल तैनाथ छन् । गुलरियामा सशस्त्रको गण अन्तर्गत १३ वटा बीओपी, एउटा एफओपी, तत्काल प्रतिकार्य गर्ने पोष्ट १ र सुरक्षा बेस क्याम्प एउटा तयार भइ सुरक्षा बल परिचालित छन् । हरेक पोष्टमा २० देखि २५ जना सशस्त्र प्रहरी बल तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो ।

लघुवित्तीय संस्था विरुद्धको संर्घष समितिले सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरीब किसानलाई निःशुल्क ऋण लगायत पाँच बुँदे माग राख्दै उनीहरुले बजार परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् । ठूलो संख्यामा गाउॅ गाउॅबाट आएका महिलाहरुले लघु वित्तीय संस्था विरुद्ध नाराबाजी गर्दै कोणसभामा गरेका थिए । संर्घष समितिका गुलरिया नगर अध्यक्ष रंजित विक्रम शाहले लघु वित्तीय संस्था खारेज गर्न, लघु वित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, गरीब किसानलाई निशुल्क ऋण प्रदान गर्न माग गर्नुभयो । विगत केही समय यता लघुवित्त संस्थाविरुद्ध रिले अनसनदेखि तालाबन्दी र विरोध प्रदर्शन भईरहेको छ ।

मधुवन नगरपालिका–३ जैविकमार्गमा जिविका आर्जनका लागि वन प्रवेश गर्दा बाघको डरत्रास छ । तर, यहाँका बासिन्दालाई वस्तुभाव र जीविकोपार्जनका लागि मेलापात गर्न डरत्रासका बाबजुत वन जानुपर्ने बाध्यता छ । वस्तुभाव र खाना पकाउन घाॅस, दाउरा लिन बाघको बासस्थान नगए चुलो बल्दैन । बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको खाता जैविकमार्ग भारतीय सीमा कतरनियाघाट वन्यजन्तु ओहोर दोहोर गर्ने घना जंगलमा विगत चार वर्ष यता १३ जनाको ज्यान गइ सकेको छ । मधुवन नगरपालिका, बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय खाता वन समन्वय समितिले पटक पटक वनमा चरिचरण नगर्न, घास, दाउरा लिन नजान, सावधानी अपनाउन सचेत गराएपनि अटेर गरी जाने गरेको जिल्ला वन प्रमुख प्रवीण बिडारीले बताउनुभयो ।

बर्दिया अदालतमा चालू आर्थिक वर्षको बैशाख तेस्रो सातासम्म ३ सय ३१ वटा मुद्दा दर्ता भएको छ । अदालतका श्रेस्तेदार निलकण्ठ बरालले शुद्ध सम्बन्ध विच्छेदका २ सय ७१ र अंश सम्बन्धी ६० वटा मुद्दा दायर भएको बताउनुभयो । चालू आवमा ८ सय ९५ मुद्दा मध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दायर भएको हो । बरालका अनुसार विभिन्न मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दा बढी मानिन्छ । कानून व्यवसायीले सम्बन्ध विच्छेदका घटना बढ्दै जानुलाई स्थानियले समाजमा डर लाग्दो अवस्था भएको बताउॅछन् । यस्तो अवस्थाले बालबालिका र सिंङ्गो परिवारलाई असर पर्दे गएको नेपाल बार एशोसिएशन बर्दियाका अध्यक्ष कमल पाण्डेले बताउनुभयो ।


प्रतिक्रिया