संखुवासभा डायरी

वैशाख २६, २०८० | संखुवासभा

संखुवासभाको खाँदबारी नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला खाँदबारी नगरपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । वृद्धवृद्धा, दलित तथा अशक्त नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको १ नम्बर वडाका वडाध्यक्ष निरञ्जन श्रेष्ठले बताउनुभयो । वडावडामा वृद्धभत्ता वितरणपछि पैदल हिँडेर खाँदबारीसम्म जाने बाध्यता हटेको छ ।

खाँदबारीमा सोमबारबाट ५ दिने राजयोग प्रशिक्षण सुरु भएको छ । मानसिक शान्ति एवम खुसीयाली जीवनका लागि आयोजना गरिएको प्रशिक्षणमा वरिष्ठ राजयोग प्रशिक्षक राजु गुरुडले दैनिक २ पटक प्रशिक्षण दिएका छन् । मानव समाजमा फैलिएको मानसिक, अशान्ति, आर्थिक, सामाजिक, शारिरिक अव्यवस्थापनको कमजोरीका कारण आएका विभिन्न विकृति र समस्यालाई निराकरण गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजक ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीले जनाएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा रहेको अरुण नदीमा पहिरो खसेर बनेको ताल फुट्ने अवश्थामा नरहेको स्पष्ट पारेको छ । निर्माणाधिन ९ सय मेगावाटको अरुण तेश्रो आयोजना स्थलको बाँध निर्माण स्थलमा गत आईतबार पहिरो खसेपछि झण्डै ३ किलोमिटर ताल बनेको छ । अरुणमा पानीको बहाब बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयले गरेपछि विपत व्यवस्थापन समितिले अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारी शीवकुमार कार्कीले अरुण तेश्रोमा बनेको १६ मिटर अग्लो बाँध फुट्ने अवश्थामा नरहेको बताउनुभयो । अरुण तेश्रो आयोजनाले अरुणमा २६ मिटर अग्लो अस्याथी बाँध बनाएर खोला फर्काएको थियो ।

सदरमुकाम खाँदबारीदेखि नुम सडकखण्ड हिलाम्मे बनेको छ । उत्तर–दक्षिण कोसी राजमार्गको खाँदबारी—नुम सडकखण्डको ३९ किलोमिटर सडक कालोपत्रेको लागि ठेक्का शर्मा शिवशक्ति जेभीले पारेको छ । निर्माण कम्पनीले काम शुरुवात गरेपनि अत्यन्तै सुस्त गतिमा काम हुँदा स्थानीयहरुले पनि सास्ती उस्तै गरि भोगिरहेका छन् । उत्तर–दक्षिण सडक खण्डको खाँदबारी–नुम ३९ किलोमिटर पार गर्न झण्डै छ घन्टा लाग्ने गरेको छ । 


प्रतिक्रिया