चितवन डायरी

श्रावण २५, २०७४ | चितवन

लालपुर्जा विहिन चेपाङले अझै राहत पाएनन्

चितवनका विकट वस्तीमा बसोबास गर्दै आएका लालपुर्जा विहिन भूकम्प पीडित चेपाङ समुदायले अहिलेसम्म घर बनाउन राहत रकम पाउन सकेका छैनन् । भूकम्पले घर भत्किएर लामो समयदेखि राहतको पर्खाइमा रहेकाहरु अहिले निराश बनेका छन् । घर नहुँदा ओडार, बाख्राको खोरमा बस्नु पर्ने बाध्यता छ । बर्षात सुरुभएदेखि पहिरोको जोखिम बढ्दा समस्या थप कष्टकर बनेको छ । जग्गाको लालपुर्जा नहुँदा घर बनाउन राहत रकम नपाएको पीडित मणिलाल चेपाङले बताउनुभयो । भूकम्प गएको २ बर्ष बितिसक्दा पनि लालपूर्जाकै कारण अझै अनुदान सम्झौता हुन सकेको छैन । 

त्यस्तै जनता आवास मार्फत घर र भूकम्प पीडितको रुपमा राहत रकम पाउन सकेका छैनन । ०६८ सालको जनगणना अनुसार मुलुकभर ६८ हजार ३ सय ३९ चेपाङको जनसंख्या छ । यो कुल जनसंख्याको शुन्य दशलमव २५ प्रतिशत हो । कुल जनसंख्याको ४० प्रतिशत चेपाङ लालपुर्जाविहिन छन् । 

केराको प्रर्बद्धन गर्न क्याफे

केराको प्रर्बद्धन गर्ने उद्देश्यले चितवनको भरतपुर ९ स्थित आस्थाचोकमा चितवन बनना क्याफे सञ्चालनमा आएको छ । ३ जना केरा व्यवसायी यज्ञप्रसाद सुवेदी, मेघनाथ भट्ट र रामचन्द्र भट्टको  संयुक्त लगानीमा क्याफे सञ्चालनमा आएको हो । कोसा बिक्रि गर्दा टुटफुट हुन्थ्यो । हावाहुरीले केरा ढाल्दा कोसा खेर जान्थ्यो । अब त्यो समस्या रहने छैन । क्याफे सञ्चालनमा आएसंगै घरी छुट्टिएर बसेका कोसाको सदुपयोग हुने छ । करिब १ करोड लगानीमा क्याफे सञ्चालनमा आएको लगानी कर्ता मध्यका एक सुवेदिले बताए । मासिक ३२ हजार तिर्ने गरी ८ कठ्ठा जग्गा भाडामा लिइ भौतिक संरचना निर्माण गरिएको छ ।  यहाँ आउने पारखीले केराबाट बन्ने म:म, चिप्स, चिल्ली, अचार, बुंगाको अचार, बनना लस्सी लगायत १५ थरीका भन्दा बढी परिकार चाख्न पाउने छन् । त्यति मात्र होइन क्याफे भित्रै केरा पकाउने भट्टा छ । क्याफेमा १२ जनालाई रोजगारी दिइएको छ । प्रत्येक मेला महोत्सवमा केराको परिकार बनाएर बिक्रि गरिन्छ । त्यही भएर माग पुरा गर्न परिकार बनाउने क्याफे सञ्चालनमा ल्याइएको हो । केराबाट वाईन बनाउने सोच पनि अघि सारिएकाले यसको अध्ययन भइरहेको सुवेदिले बताए । 

भाइरल ज्वरोका विरामी बढे

चितवनका सरकारी तथा निजी अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या बढेको छ । चिकित्सकका अनुसार भाइरल ज्वरोका विरामी बढेका हुन् । परिक्षणको क्रममा विरामीमा स्क्रव टाइपस देखिएको छ । भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीका अनुसार मेडिकल वार्डमा दैनिक ३ सयको संख्यामा विरामी उपचारका लागि आउने गरेका छन् । विरामीमा टाउको दुख्ने, घाँटी दुख्ने, रुघा लाग्ने ज्वरो आउने लगायतका लक्षण देखिने गरेको छ । केहीमा इन्फ्लुन्जा ए पोजेटिभ समेत देखिएको अधिकारीले बताउनुभयो । जुन स्वाईनफ्लुसंग मिल्दो जुल्दो हुने गर्छ । बिरामीहरुमा  १५ देखि ४५ बर्ष उमेरका बढी छन् । २ हप्ता यता विरामीको संख्या बढेको हो । गर्मी बढेसंगै पानी पर्ने क्रम पनि बढेकाले विरामी हुनेको संख्या बढेको हो । चिकित्सक अधिकारी रोगबाट जोगिन मास्क प्रयोग गर्ने , उमालेको पानी पीउने जथाभावी खाना खान नखान र अरु विरामीबाट सुरक्षित रहन सुझाव दिनुहुन्छ । 

पर्दा पछाडीका यादव 

गीत राम्रो हुन पहिलो हात सर्जकको हुन्छ । गाउनु अघि शब्द हेरिन्छ । त्यही अनुसार गीत गाउने र त्यसमा संगित भर्ने काम गरिन्छ । शब्द नै राम्रो भएन भने न त्यसमा संगितको मिठास हुन्छ न गीतले दर्शक/श्रोताको मन जित्न सक्छ । तर यसरी माया प्रेम, सुख दु:खलाई गीतको शब्दमा उतार्ने ब्यक्ति भने संधै पर्दा पछाडी हुन्छन । गीत हिट हुंदा त्यसको श्रेय गायक र संगितकारले मात्र पाउंछन् ।  गीत रच्ने सर्जक ओझेलमा पर्छन । 

उनीहरु पर्दापछाडी बसेर ‘नायक’को भूमिका निर्वाह गर्छन् । तिनै मध्यका एक हुन चितवनको रत्ननगर १५ स्थित पिठुवाका यादव लम्साल । उनले १ सय भन्दा बढी गीत रची सके । ९ वटा गीतले रेकर्ड भई चर्चा कमाए । १० वटा गीत रेकर्ड भएर पनि भिडियो बन्न नसक्दा दर्शक/श्रोतामाझ आउन सकेका छैनन । विद्यालयमा पढ्दादेखि गीत लेख्न थालेका उनी अहिले पनि यो क्षेत्रमा संघर्ष गरी रहेका छन् । ३६ बर्षिय लम्सालले सुरुको अवस्थामा गीत मात्र रचेनन । लघुकथा पनि लेखे । अभिनय र नृत्य गर्ने सोख पनि पुरा गरे । गाउँमै ‘पिढी सांस्कृतिक सांझ’ पनि चलाए ।

०६९ सालमा ‘आंधी चलेर हो..’ गीत बेदु शारु मगरको स्वरमा रेकर्ड गराए  । तर उनलाई चिनाउने काम भने ‘ धुवाँ सरी फैले छ कुरो त...’ गीतले गर्‍यो । अहिले उनले रचना गरेको तीज गीत ‘ सिपालु जमुना..’ ले राम्रै चर्चा बटुली रहेको छ । मोफसलमा भएर आफु ओझेल परेको उनले गुनासो गरे ।   


प्रतिक्रिया