अर्घखाँची डायरी
पुस १८, २०७४ | अर्घखाँची
- सिद्धारामा उत्पादन भएका हिउँदे मकै बिक्री नहुँदा किसान मर्कामा परेका छन । भदौमा रोपेको मकै पुसमा पाकिसकेको छ । तर, बजार अभावमा मकै बारीमै थन्किएका छन् । पाकुरीका कमानसिंह सारुले सात रोपनी बारीमा मकै उत्पादन गरेका छन् ।
‘बिक्री भए आम्दानी हुन्थ्यो,’ उनले भने, ‘बजार टाढा भएकाले लैजान सकिंदैन । ग्राहक पनि घरमा आउँदैनन् ।’ दाङ र कपिलवस्तुसँग सीमाना जोडिएको सिद्धाराका बस्तीबाट बजारको सहज पहुँच छैन । उनका अनुसार पाकुरीमा २०, सिस्नेमा सात, लामिदमार र ढाडखोलाका ३५ घरले हिउँदे मकै खेती गर्छन । चन्द्रौटा बजारमा पुर्याए घुघाको १५ रुपैयाँसम्म पर्छ । तर, एक दिन पुरै लाग्छ । बेमौसमी मकै उत्पादन गरेपनि बिक्री नहुँदा गाउँमा आम्दानी भित्रिन सकेको छैन । दस वर्ष देखि यी गाउँमा हिउँदे मकै खेती हुँदै आएका छ ।
कुलो पुरिँदा दुई हजार रोपनी खेत बाँझै
सिँचाई कुलो मोटरबाटोले पुरेपछि दुई हजार रोपनी खेत बाँझै रहेको छ । खेतीयोग्य जमिन अहिले चौर बनेको छ । छ वर्ष अघिसम्म पालीका बलराम खत्रीले हडाहाको दस रोपनी खेतमा ५० मुरी धान फलाउँथे । हिउँदमा गहुँ र आलु उत्पादन हुन्थ्यो । तर, अहिले खेत छ वर्षयता बाँझै छ । सिँचाई कुलो पुरिएपछि खेत बाँझै रहेको हो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण गर्दा सिँचाई कुलो पुरिएपछि उनी सहित डेढ सय कृषकको करीब दुई हजार रोपनी खेत बाँझै छ । खरिपाटा, हल्दे, बिसेफाँट, तीनथुप्रे, हडाहा लगायतका खेतीयोग्य जमिन बाँझिएपछि कृषक मारमा परेका छन् । बाँगी खोला किनाराबाट सडक निर्माण गरिएको छ । पुरिएको कुलो निर्माण गरिदिन ढोरपाटन सडक डिभिजन कार्यालयलाई बारम्वार अनुरोध गरेपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । ढोरपाटन सडक डिभिजन प्रमुख होमबहादुर एसीले स्थानीइलाई पानी ल्याउन आठ सय मिटर पाइप दिएपनि बिच्छयाउने काम नगरेको उल्लेख गर्नुभयो ।
खसीबोका बेचेर महिला स्वरोजगार
जिल्लाको शीतगंगा नगर–११ को दुर्गम बस्ती सिद्धारा मौवाबारीका महिलाले खसी र बोका बिक्री गरेर घरखर्च देखि छोराछोरीको पढाई खर्च जुटाएका छन् । गाउँका महिला मिलेर मौवाबारी स्वाबलम्बी महिला समूह गठन गरी व्यावसायीक बाख्रापालनमा सक्रिय छन् । मौवाबारीकी शीला घर्तीले स्थानीय जातको बाख्रालाई बोयर जातको विर्यबाट जुम्ल्याहा पाठापाठी जन्मिने र तौल दोब्बर हुने गर्छ ।
हेफर इन्टरनेशनलको सहयोगमा प्रकाश सचेतन समुह (प्राग) को बाख्रा विकास परियोजना कार्यक्रमले आधुनिक खोर, खसी बोकाको तौल बढाउन आहार, औषधि उपचार र स्याहार सुसारको बारेमा प्रशक्षिण र तरिका सिकाएपछि शीलालाई थप उर्जा थपियो । जंगलमा जडिबुटी खाएको खसी बोका भनेर व्यापारी कपिलवस्तु र बुटवलबाट गाउँमै खरिद गर्न आउने समूहकी अध्यक्ष तारा भट्टराइले बताइन । पाठी, बोका र खसी बिक्रीबाट वर्षमा ५०/६० हजार आम्दानी भएको उनले बताइन । समुहमा २१ जना महिला आबद्ध छन् । सबै महिला स्वरोजगार उन्मुख छन । अहिले घरखर्चको लागि ऋण खोज्न साहुकोमा कोही नजाने उनले बताइन ।
अर्घाखाँचीमा १ सय ८८ एचभाइभी संक्रमित
जिल्लामा एक सय ८८ जना एचआईभी संक्रमित फेला परेका छन । जसमध्ये महिला ८८ जना संक्रमित छन् । अहिलेसम्म १५ जना संक्रमित सार्वजनिक भएका छन् । एड्सबाट संक्रमित धेरैले औषधि सेवन गर्छन । एक सय २५ जनाले नियमित औषधि सेवन गर्छन । जसमध्ये ८९ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट र अरु सबै जिल्ला बाहिरबाट औषधि सेवन गर्ने जिल्ला एड्स समन्यव समितिले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको मतहतमा प्रेरणा परियोजना नामक संस्थाले एचभाईभी संक्रमितको लागि सहयोग र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छ । परियोजना संयोजक गिता भुसालका अनुसार १८ वर्ष मुनिका १० जना बालबालिका संक्रमित छन । ४५ जना संक्रमितको मृत्यु भैसकेको उनले बताइन । संक्रमित भएका सबै भारतमा श्रीमान संक्रमित भएर आउने र श्रीमतीलाई सार्ने गरेकाले वर्षेनी संख्या बढ्दै गएको हो ।