सुनसरी डायरी

आश्विन १३, २०७९ | सुनसरी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा परेको दशै पर्वका कारण सुनसरीमा थप रौनक बढेको छ । नेताहरु गाउँ आउने क्रम बढेको छ भने, जिल्लामा भेला तथा शुभकामना कार्यक्रमहरुले निरन्तरता पाउन थालेका छन् । ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुनसरीमा सत्ता गठबन्धनको बर्चश्व देखिएको छ । जिल्लाका पुराना नेताहरु सिफारिस भएपछि थप चुनावी गतिविधी बढेको छ ।

निर्माण कार्य छाडेर ठेकेदार बेपत्ता भएपछी अलपत्र परेको इटहरीको तरहरादेखि धरानसम्मको चारकोसे झाडी खण्डको सडक निर्माण कार्य पुन सुचारु भएको छ । रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक विस्तार आयोजनाअन्तर्गतको सो सडकको निर्माण कार्य ८ महिनादेखी अपलत्र हुदा यात्रुले सास्ती भोग्नु परेको भन्दै प्रतिनिधिसभामा समेत आवाज उठेको थियो । तरहरा देखि धरान सम्मको १० किलोमिटर सडक २ वटा खण्डमा ठेक्का लगाइएको छ । तरहरादेखि सेउती पुलसम्मको प्याकेज ५ दशमलव ५ किलोमिटर सडक बनाउने ठेक्का हिमधुङ प्यासिफिक जेभीले लिएको छ । यो खण्डमा ठेकेदार पुन काममा फर्किए पनि निर्माण कार्य निकै सुस्त भएको आयोजना कार्यलय इटहरीले जनाएको छ । दोस्रोखण्ड अन्तर्गत सेउतीपुलदेखि धरानको तीनकुनेसम्म ४ दशमलव ५ किलोमिटररौताहा कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी निर्माण गर्ने जिम्मेवारी पाएको छ ।

सुपारी निर्यातकर्ताले अदालतमा दायर गरेको रिट फिर्ता लिए पनि प्रहरीले भारतीय सिमानाका रानीबाट बरामद गरेको आठ ट्रक सुपारीको अनुसन्धान अझै अघि बढ्छ सकेको छैन । भारत तर्फ तस्करी हुनलागेको आशंकामा ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको सुपारी प्रहरीले गत साउन ५ गते राती नियन्त्रणमा लिएको थियो । प्रहरीले ८ वटा भारतीय नम्बरको ट्रकमा २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यलय इटहरीमा साउन ८ गते बुझाएको थियो । सुपारीबारे राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान थाल्नै लाग्दा सुपारी निर्यात कर्ता मनकामना ट्रेडर्स विराटनगरका सञ्चालक नवीन घिमिरेले उच्च अदालत बिराटनगरमा मुद्धा दायर गरेपछी अनुसन्धान प्रभावित भएको थियो ।

चाडपर्वलाई लक्षित गरेर सुनसरी प्रहरीले जिल्लामा बिशेष सुरक्षा योजना लागु गरेको छ । सर्वसाधारणमा पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउदै चाडपर्वलाई सुरक्षित मर्यादित र सभ्य बनाउन बिशेष सुरक्षा योजना लागु गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । प्रहरीले जिल्लाभरमा नौ प्रकारका सुरक्षा व्यवस्था मिलाएको छ । सिआरभिकाचार ओटा गाडी, ३६ ठाउामा चेक प्वाइन्ट, सादापोसाकमा छ समूह, दैनिक एक हजार १सय७ जना प्रहरी परिचालन लगायत सुरक्षा योजनालागु गरिएको छ । प्रहरीले दशै तिहार मान्न घरमा ताला लगाइएर टाढाको यात्रामा जानु परे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन पनि आग्रह गरेको छ ।



प्रतिक्रिया