बर्दिया डायरी

मंसिर १८, २०७९ | बर्दिया

भारतीय सहित नेपाली नागरिकले घर जग्गा नभएको भन्दै गुलरिया नगरपालिकाको अधिनमा रहेको करिब एघार विघा सार्वजनिक जग्गा अतिक्रमण गरि अस्थायी घर निर्माण गरेका छन् । गुलरिया नगरपालिकाले चार वर्ष अघि गुलरिया न—७ स्थित ६३ घरपरिवार रहेका अतिक्रमितको घर जग्गा खाली गराउन लगत लिएको थियो । अतिक्रमित जग्गामा औद्योगिक ग्राम बनाउने योजना पालिकाले अघि सारेको छ । चाडै छानविन गरि वास्तविक सुकुम्बासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउने नगरप्रमुख मुक्तीनाथ यादवले बताउनु भयो ।

बाघका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएको बर्दिया निकुञ्जमा पर्यटकका लागि गन्तव्य बन्दै गएको छ । गत साउन यता हाल सम्म आन्तरिक ४ हजार ४ सय ५५ जना पर्यटकले बर्दिया निकुञ्जको अवलोकन गरि सकेको सहायक संरक्षण अधिकृत मुकुन्द सञ्जेलले बताउनु भयो । यस्तै सार्क मुलुकबाट २ सय ४४ जना पर्यटक यहा आएका थिए । तेस्रो मुलुकबाट निकुञ्ज अवलोकन गर्न २ हजार १ सय ५६ पर्यटकको बर्दिया आएका छन् ।

पप्पु कन्सट्रक्शनले निर्माण गरेको पुल बगाएपछि पुल महाशाखाले यसै महिनाको अन्तिम साता ठेक्का आह्वान गर्न थालेको छ । प्रतिनिधी तथा प्रदेशसभामा निर्वाचित भए लगतै सांसद संजय कुमार गौतमको आग्रहमा आएका पुल महाशाखाका डिजी सहितको टोलीले बबई नदीको जब्दीघाटको अवलोकन गरि मंसिर अन्तिम साता भित्र निर्माण गर्ने तयारीमा लागेको छ । नयॉ पुलका लागि आवश्यक ठेकेदार कम्पनीले आफै डिजाइन तयार गर्ने भएको छ । पुल सेक्टर कार्यालय नेपालगन्जका प्रमुख लिला बहादुर भण्डारीले ६ महिना भित्र डिजाइन र ३ वर्ष भित्र पुल निर्माण गर्ने ठेक्का दिने प्रक्रिया अघि बढेको बताउनु भयो ।

गुलरिया नगरपालिका—६ नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडमा सेवाग्राहीका रकम हिनामिना भएको भन्दै लुम्बिनी सहकारी बोर्डले कारवाही प्रक्रिया अघि बढाएको छ । सो संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो एक महिना देखि सम्पर्क विहीन भएपछि लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयले आवश्यक कागजात नियंत्रणमा लिई छानविन शुरु गरेको जनाएको छ । स्रोतले सेवाग्राहीका २७ करोड रुपैया जम्मा भएको देखिए पनि कती करोड रुपैया लगानी भएको छ एकिन तथ्यांक नरहेको बताइएको छ ।


प्रतिक्रिया