रसुवा डायरी

चैत्र ३, २०७९ | काठमाडौं

२०७२ सालको भूकम्पका कारण भत्किएको रसुवा अस्पताल भवन निर्माण हुन नसक्दा अस्पतालका सेवा प्रभावित भएको छ । अस्पतालमा विशेषज्ञ डाक्टर र भौतिक संरचनाको अभावले गुणस्तरीय स्वास्थ्य सेवामा समेत समस्या हुने गरेको छ । जिल्ला सदरमुकामस्थित १५ शैयाको यो अस्पतालमा उपकरणहरु समेत पयोग गर्ने कर्मचारी नहुंदा जटिल प्रकृतिका बिरामी मारमा पर्ने गरेका छन् । जिल्लामा प्रसुती सेवा तथा शल्यक्रिया समेत गराउने सुविधा भए पनि रगतको अभाव हुने गरेको अस्पतालले जनाएको छ ।

डडेलोले उजाड बनेको रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गतला गाँंउमाथिको वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डडेलोका कारण सात सय हेक्टर जमिनका वनस्पति पूर्णरुपमा जलेको थियो । डडेलो लागेको १४ वर्ष भए पनि अझै तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले डडेलो लागेको सो क्षेत्रमा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ । समुन्द्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने एवं ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति उम्रिन सकेको छैन ।

रसुवाको नौकुण्ड गाउँपालिका अन्तर्गत पारच्याङमा ग्रामीण अस्पताल भवन निर्माण कार्य शुरु भएको छ । चार करोड १६ लाख रुपैयाँ लागत रहने यो अस्पताल निर्माणको जिम्मा धुलिखेल निर्माण सेवाले लिएको छ । तीन हजार वर्ग फिट क्षेत्रफलमा निर्माणाधिन सो अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अस्पतालमा अहिले पिलर राख्ने र बिम कस्ने काम भइरहेको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधलगायत संरचना निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको ब्रेकथ्रु भएको छ । बाँध निर्माणका लागि चार सय २० मिटर लम्बाइ र पाँच मिटर चौडाइसहितको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सनको गत हप्ता ब्रेक थ्रु भएको हो ।अहिले सुरुङ निर्माणसकिएपछि नदी फर्काएर बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले बताएको छ । अहिले आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत छ ।

 


प्रतिक्रिया