निवेदन दिएको १५ मिनेटमै श्रम स्वीकृती दिने प्रदेश सरकारको दावी

माघ २३, २०७५ | काठमाडौं

वैदेशिक रोजगारसंग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति सेवा सुरु गरेको छ । प्रदेश २, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशपछि सरकारले प्रदेश १ बाट श्रम स्विकृती सेवा सुरु भएको हो । प्रदेश ३ मा भने केन्द्रिय राजधानी समेत भएको प्रदेश भएकाले श्रम स्वीकृति दिने नदिने अन्योल छ । 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे आज बिहान श्रम स्वीकृती सेवाको शुभारम्भ गर्नुभयो । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट धनकुटाको चौबिसे गाउँपालिका ५ का बिजय खड्काको श्रम स्विकृती दिदै सेवाको सुरुवात गरेको हो । 

कार्यालयले आज निवेदन दिने सबैको श्रम स्वीकृत गर्ने जनाएको छ । प्रक्रिया सुरु भएको १५ मिनेटमै सेवाग्राहिले सेवा प्राप्त गर्ने कार्यालयको दाबी छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुन: श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । 

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया