नेप्से ४३ अंकले बढ्यो, कारोबार रकम घट्यो

फाल्गुन १३, २०७६ | काठमाडौं

कारोबार हुने साताको तेस्रो दिन धितोपत्र बजार उच्च अंकले बढेको छ । बजार परिसूचक नेप्से आज ४३ दशमलव २ अंकले बढेर १ हजार ५ सय ४५ दशमलव १९ बिन्दुमा पुगेर बन्द भएको छ । 

नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ४२ करोड रुपैयाँले कमी आएको छ । हिजो सामान्य अंकले गिरावट आएको नेप्सेमा ३ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

नेप्सेमा आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ६ सय ७३ दशमलव ४९ अंकले बढेको छ । 

यस्तै, निर्जीवन बीमाको ३ सय ७ दशमलव ९, लघुवित्तको ८३ दशमलव ४४ र अन्य समूहको उपसूचक ५१ दशमलव ३ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ८० कम्पनीका २६ हजार ५ सय ३६ कारोबारबाट ७० लाख ५९ हजार ७ सय १२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २ अर्ब ९९ करोड रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज्ले जनाएको छ । 

कारोबार हुने तेस्रो दिन आज सबैभन्दा बढी हिमालय डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । 


प्रतिक्रिया