आन्तरिक उत्पादन बढेसँगै भारतबाट विद्युत आयात आधाले घट्यो

जेष्ठ १४, २०७७ | काठमाडौं

आन्तरिक उत्पादनमा वृद्धि भएसँगै भारतबाट विद्युत आयात झण्डै आधाले घटेको छ । चालू आर्थिक वर्षको आठ महिनामा १ हजार ४ सय ६८ दशमलव ७७ गिगावाट घण्टा बराबरको विद्युत आयात भएको सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षमा उल्लेख छ । 

यो गत वर्षको सोही अवधिको तुलनामा झण्डै आधाले कम हो । गत वर्षको फागुनसम्म २ हजार ८ सय १३ दशमलव शुन्य ७ गिगावाट घण्टा बराबरको विद्युत आयात भएको थियो । आर्थिक वर्ष २०७६/७७ को फागुनसम्ममा वैकल्पिक ऊर्जा बाहेक जलविद्युत उत्पादन १ सय ४ दशमलव ३९ मेगावट पुगेको छ । 

यो सँगै कुल जलविद्युत उत्पादन १ हजार २ सय २३ दशमलव १० मेगावाट पुगेका विद्युत प्राधिकरणले जनाएको छ । चालू वर्षमा विद्युत चुहावट नियन्त्रणमा पनि प्रगति देखिएको छ । 

गत वर्ष १५ दशलमव ३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्ष ९ दशमलव ९ प्रतिशतमा झरेको हो । गत फागुनसम्म २४ हजार ७ सय २४ मेगावाट क्षमता बराबरका जलविद्युत आयोजनाका लागि विद्युत उत्पादन अनुमतिपत्र जारी भएको पनि सर्वेक्षणमा उल्लेख छ ।


प्रतिक्रिया