भरतपुर महानगरको बजेट ४ अर्ब १५ करोड रुपैंयाँ

 नगरसभामा मन्तव्य राख्दै प्रमुख रेणु दाहाल । तस्बिर : रमेशकुमार पौडेल, रेडियो कान्तिपुर ।

असार १०, २०७७ | भरतपुर

भरतपुर महानगरपालिकाको आज सुरु छैठौं नगरसभामा चार अर्ब १५ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव भएको छ । नगरसभामा उप–प्रमुख पार्वती शाह ठकुरीले बजेट वक्तब्य राख्दै महानगरपालिकाले विभिन्न ११ वटा क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट बाँडफाँड गरेको जानकारी गराउनुभयो । जसमा सहरी सौन्दर्य र भु–उपयोगमा सवैभन्दा बढी बजेट र प्रथामिकता रहेको छ ।

सहरी सौन्दर्य, भु–उपयोग र व्यवस्थित वस्ती विकासका कामका लागि ४७ करोड ३० लाख ९७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको उप–प्रमुख शाहको भनाइ छ । बजेट वक्तब्यमा कोभिड–१९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुका लागि रोजगार सिर्जना गर्ने उद्देश्य राखेको उल्लेख छ ।

नगरसभामा मेयर रेनु दाहालले पेश गरेको नीति तथा कार्यक्रममा विदेशबाट फर्कने युवाका लागि ‘विदेशको सीप स्वदेशका लागि’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरुसहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गराउने भन्ने रहेको छ ।

कोरोनाले आर्थिक संकट ल्याएका कारण पर्यटन र मनोरञ्जन व्यवसायमा २५ प्रतिशत र अन्यलाई १५ प्रतिशत कर छुट दिने नीति रहेको मेयर दाहालले बताउनुभयो । कोरोना महामारी व्यवस्थापनका लागि महानगरले १६ हजार ३ सय ९२ घरधुरीलाई ८० लाख ५४ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको मेयर दाहालले जानकरी दिनुभयो । 


प्रतिक्रिया