युरिया मल अभाव, डीएपी भने धमाधम आउँदै

श्रावण १४, २०७७ | पर्सा

पर्सामा विगत डेढ महिनादेखि युरिया मलको अभाव छ । किसान हकहित संघर्ष समितिका जिल्ला सचिव अगुवा किसान पृथ्वी साह कानुले डेढ महिनादेखि आफूले युरिया मल नपाएको बताउनुभयो । धान गोडमेल गर्ने बेला भई सकेकाले मल नछर्दा बालीनै बिग्रन सक्ने उहाँले बताउनुभयो । 

मल अभावले धान बाली बिग्रेर यसवर्ष उत्पादन घट्ने चिन्ता जिल्लाका अर्का अगुवा किसान सहरुम राउतलाई पनि छ । नेपाल र भारतमा लामो लकडाउनसंगै सीमामा गरिएको कडाईका कारण विगतका वर्षहरु जस्तो मल अभाव हुँदा भारतबाट मल ल्याएर गर्जो टार्ने सुविधा पनि यसवर्ष जिल्लाका किसानले नपाएको उनले बताए ।

मल बिक्री वितरणको जिम्मेवारी पाएका सहकारी संस्थाले पनि डीएपी मल मात्र उपलब्ध रहेको बताएको किसानहरुको गुनासो छ । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले यसवर्ष जिल्लाका किसानले समयमै रोपाइँ सम्पन्न गरेपनि कम अभावका कारण समस्यामा परेको बताउनुभयो । 

असारको सुरुवात देखिनै पटकपटक वर्षा भएकाले जिल्लाका अधिकांश किसानले रोपाइँ सम्पन्न गरेको उहाँले बताउनुभयो । यसवर्ष जिल्लामा ४६ हजार ५ सय हेक्टर जग्गामा रोपाईँ भएको उहाँको अनुमान छ । तर समयमा किसानले मल नपाए यसवर्ष धानको उत्पादन घटने निश्चित भएको उहाँले बताउनुभयो ।

मल आयात गर्ने सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्ेरडिङ्ग कर्पोरेशन लिमिटेड वीरगञ्जमा पनि युरिया मलको मौज्दात सक्किएको छ । कम्पनी वीरगञ्ज शाखा कार्यालयमा हाल युरिया मलको मौज्दात शून्य रहेको कार्यालय प्रमुख गोरखनाथ केसीले बताउनुभयो । शाखाको गोदामको युरिया मलको मौज्दात सक्किएको करीब डेढ महिना भन्दा पनि बढी भई सकेको उहाँले बताउनुभयो । अर्को युरिया मलको लट कहिले सम्म आउने भनि अझै एकीन नभएको केसीले बताउनुभयो ।

‘कम्पनीले ल्याउन लागेको कुल ५० हजार मेटन युरिया मल मध्ये वीरगञ्ज शाखाले २० हजार मेटन मल पाउछ,’ उहाँले भन्नुभयो, ‘पूर्व निर्धारित तालिका अनुसार मल आउने हो, मल भित्रिएको सुरुवातमै वीरगञ्ज शाखाले पाउने भएकाले किसानको माग भएका जिल्लाहरुमा तत्कालै मल परिचालन समेत गरिने छ ।’

ग्लोबल टेण्डर मार्फत सैलुङ्ग इन्टरनेशनल र होनिका गरी २ ठेकेदार कम्पनीले २५/२५ हजार मेट्रिक टन युरिया मल आयात गरी ल्याउने सम्झौता कम्पनीसँग यसअघि गरी सकेका छन् । तत्काल माग नभएपनि शाखासँग हाल डीएपी मलको मौज्दात पर्याप्त रहेको छ । प्रमुख केसीका अनुसार, हाल शाखाका वीरगञ्जस्थित गोदामहरुमा २ हजार मेटन डीएपी मलको मौज्दात रहेको छ । एक साता यता मात्र कम्पनीको ३ रेल्वे र्‍याक डीएपी मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आई पुगेको उहाँले जानकारी दिनुभयो ।

कम्पनी वीरगञ्ज शाखाले प्रदेश १, २, र गण्डकी प्रदेशका समेत गरी डेढ दर्जन जिल्लाहरुमा रासायनिक मल परिचालन गर्ने गर्छ । यता साल्ट ट्ेरडिङ्ग कर्पोरेशन वीरगञ्ज शाखासँग पनि युरिया मलको मौज्दात छैन । कम्पनीसँग हाल युरिया मलको मौज्दात शून्य रहेको शाखा प्रमुख अमोज लामिछानेले बताउनुभयो । 

भारतकै एक नयाँ बन्दरगाहमा कर्पोरेशनको युरिया मल लामो समय देखि अड्किएको र सो बन्दरगाह नेपालका लागि खुल्ला नरहेकाले त्यहाँ अड्किएको मल नेपाल आउने बाटो अझै नखुलेको उहाँले बताउनुभयो ।

भारतले नेपालका लागि कोलकाता, हल्दिया र बिशाखापटनम गरी हालसम्म तीन वटा बन्दरगाह मात्र खुल्ला गरेको छ । यस बाहेकका बन्दरगाहमा आएका मालवस्तु नेपाल ल्याउन सकिदैन । भारतमा समेत लकडाउन भएकाले सो बन्दरगाहबाट कोलकाता वा हल्दिया बन्दरगाहसम्म नेपालको मल बोकेको पानी जहाज जान सकेको छैन । युरिया नरहे पनि शाखासँग ३ हजार मेटन बढी डीएपी मलको मौज्दात रहेको लामिछानेले बताउनुभयो ।

गत आइतबार साँझ मात्र कर्पोरेशनको एक रेल्वे र्‍याक डीएपी मल सिर्सिया सुक्खा बन्दरगाहमा आई पुगेको उहाँले बताउनुभयो । यसै साता थप एक र्‍याक डीएपी मल आई पुगेको थियो । 


प्रतिक्रिया