फेरि भित्रियो भिजेको ४७ हजार बोरा डीएपी मल

वीरगञ्जको सुख्खा बन्दरगाह गोदाममा भण्डारण गरिएको भिजेको डीएपी मल । अधिकांश मल भिजेर गुणस्तरहीन भएका छन् । तस्बिर : भूषण यादव/रेडियो कान्तिपुर । 

आश्विन २०, २०७७ | पर्सा

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ग्लोबल टेन्डर मार्फत खरिद गरी आयात गरेका ४७ हजार बोरा डीएपी मल भिजेकै अवस्थामा वीरगञ्जको सुख्खा बन्दरगाहमा आएको छ । तेस्रो मुलुकबाट आएको मल भारतको कोलकाता बन्दरगाह हुँदै गत आइतबार सुख्खा बन्दरगाहमा आइपुगेको हो । 

कामदारका अनुसार रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा अधिकांश मलका बोराबाट कालो पदार्थ झरिरहेको थियो । अधिकांश बोरा भित्रको मल सडेर कालो डल्लो भइसकेको छ । भिजेका मल गुणस्तरहीन भएका छन् । यसअघि गत भदौ पहिलो साता २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा वीरगञ्जको सुख्खा बन्दरगाह आएको थियो । भदौमा आएको भिजेको मल हालसम्म जाँचपास भएको छैन । बन्दरगाहको गोदाममै थन्किएको छ । 

आपूर्तिकर्ताले मल सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गरी साल्ट ट्रेडिङको गोदाममा पुर्‍याएपछि मात्र हाम्रो जिम्मेवारीमा आउने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । ‘बन्दरगाहमा आएको मल अहिलेपनि सप्लायर्सकै जिम्मामा छ,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगञ्जका प्रमुख आमोज लामिछानेले भन्नुभयो, ‘जाँचपास भएर साल्ट ट्रेडिङको गोदाममा आएपछि मात्र हाम्रो जिम्मामा आउँछ ।’

आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्टका प्रतिनिधिले गत मईमा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको जनाए । ‘नभिजेका मल पहिले नै आइसक्यो,’ ती एजेन्टले भने, ‘अहिले कोलकाता बन्दरगाहमा मल राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको हो ।’

साल्ट ट्रेडिङ कार्यालयका अनुसार आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजले ठेक्का सकार गरेको २५ हजार टन मध्ये अझै करीब ६ हजारदेखि आठ हजार टन मल आपूर्ति गर्न बाँकी छ । स्रोतका अनुसार कोलकोतामा रहेका अरु मल पनि भिजेको अवस्थामै छन् ।

सम्झौता बमोजिम आपूर्तिकर्ताले मल राम्रो अवस्थामा गोदाममा नदिएसम्म भुक्तानी नदिने साल्ट ट्रेडिङ लिमिटेडका अधिकारीहरुले बताएका छन् । सम्झौतामा गोदाम डेलिभरी भएकाले एक पैसाको पनि भार साल्ट ट्रेडिङमाथि पर्ने अवस्था छैन् । राम्रो अवस्थामा गोदाम गनेर दिएको मलको मात्र भुक्तानी गर्ने कर्मचारीले बताउँदै आएका छन् ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता जगदीश पूर्वेले भिजेको मल जाँचपास नहुने बताउनुभयो । ‘गत भदौमा आएको भिजेको मल हालसम्म गोदाममै छ,’ उहाँले भन्नुभयो, ‘बीमाका सर्भेयरले सर्भे गरेर गएपनि हालसम्म प्रतिवेदन बुझाएका छैनन् । भिजेको मल जाँचपास भएको छैन् ।’

खराब मललाई नष्ट गरिने भन्सारका कर्मचारीले बताएका छन् । जानकारका अनुसार तेस्रो मुलुकबाट नेपालका लागि आएका सामान धेरै दिनसम्म भारतीय बन्दरगाहमा राख्न दिँदैनन् । आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्टका अनुसार एलसी खोलेर आएको सामान जे–जस्तो अवस्थामा छ त्यो नेपालमा इन्ट्री भएकै हुन्पर्छ, जति कागजात सिपमेन्ट भएको छ, यो आउनैपर्छ ।


प्रतिक्रिया