माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको काम बन्द

लमजुङको दोर्दीखोलामा निर्माणाधिन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको पावर हाउस । तस्बिर: आश गुरुङ/रेडियो कान्तिपुर । 

आश्विन २८, २०७७ | लमजुङ

लमजुङको दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका २७ जनामा कोरोना देखिएपछि निर्माण कार्य बन्द भएको छ । निर्माणकार्य अन्तिम चरणमा पुगेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत गृहमा टर्बाइन, जेनेरेटर लगायत मेसिनरी सामग्री जडान कार्य भईरहेको थियो । 

लिबर्टी इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित माथिल्लो दोर्दी ‘ए’ को निर्माणकार्य करीब ९८ प्रतिशत सकिएको छ । यही कार्तिक अन्तिममा विद्युत उत्पादनको तयारी थालेको आयोजनामा काम गरिरहेका कर्मचारी र कामदारमा मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि आयोजनाको निर्माण कार्य बन्द भएको हो ।

प्रवद्र्धक लिबटी इनर्जीका निर्देशक राजेन्द्र वस्तीका अनुसार मंगलबार कर्मचारी र कामदारमा कोरोना पुष्टि भएपछि बुधबारदेखि आयोजनाको निर्माण कार्य बन्द भएको हो । उहाँले भन्नुभयो, ‘आयोजनाको निर्माण कार्यमा खटिएका प्रमुख व्यक्तिहरु, इन्जिनियर, सुपरभाइजरमा कोरोना देखियो । अन्य कर्मचारी तथा कामदार पनि ट्रेसिङमा पर्‍यो । हाललाई काम बन्द गरेका छौं ।’ 

उहाँका अनुसार आयोजनामा कार्यरत एकजना बिरामी भएपछि काठमाडौं गएको र कोरोना संक्रमण भएपछि आइतबार ३० जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । यीमध्ये २७ जनाको पोजेटिभ आएको हो । उहाँका अनुसार कन्ट्याक्ट ट्रेसिङमा पुन: ३० जना बढीको थ्रोट स्वाब संकलन गरिनेछ ।

सरकारले गत चैत ११ गते लकडाउन गरेसँगै आयोजनाको निर्माण कार्य प्रभावित हुँदै आएको छ । सुरुमा निर्माण कार्य बन्द रहेको आयोजनाको काम पछिल्लो समय हुँदै आएको थियो । सुरुमा २०७४ असार मसान्तभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको निर्माण कार्य २०७१ फागुनबाट सुरु भएको थियो । सुरुमै २०७२ बैशाखको भूकम्प र नाकाबन्दीले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । 

गतवर्ष साउन ८ गते बाढी पहिरोले आयोजनाका १० जना कामदार बगाउनुका साथै आयोजनामा क्षति पुर्‍याएपछि आयोजनाको निर्माण कार्य पुन: प्रभावित भएको थियो । पछिल्लो सम्झौता अनुसार गत चैत ३० गते निर्माण सक्नुपर्नेमा त्यसयता नेपाल विद्युत प्राधिकरणले व्यवसायिक उत्पादन मिति (सीओडी) तोकेको छैन । प्रवद्र्धकले कार्तिक मसान्तको समय माग गरेको छ ।

निर्माण लम्बिँदा आयोजनाको लागत ६७ करोड ६० लाख ९५ हजार रुपैयाा बढी लाग्ने अनुमान प्रवद्र्धकको छ । सुरुमा ३ अर्ब ९६ करोड लगानीमा सक्ने अनुमान गरिएको आयोजनाको लागत अनुमान पछिल्लो प्रक्षेपण अनुसार ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुनेछ । आयोजनामा १२ दशमलब ५ मेगावाटका २ वटा पेल्टन टर्बाइन रहनेछ ।

दोर्दी गाउँपालिका–६ ढोडेनी र ७ फलेनीलाई प्रभावित क्षेत्र बनाएर दोर्दीखोला क्षेत्रमा निर्माण भइरहेको आयोजनाको सबै संरचना ढोडेनी क्षेत्रमा छ । ढोडेनीको तल्लो सिमीस्थित लोंदोखोला दोभानमुनी बाँध बाँधेर कीर्तिपुरबेंसी नजिकै मालेबगरमा निर्मित विद्युत गृहमा पानी खसालेर विद्युत उत्पादन गरिने छ । २ हजार ६ सय २३ मिटर लम्बाईको सुरुङ र २ हजार ८ सय ५४ मिटर लामो पेनस्टक पाइप मार्फत पानी ल्याएर विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । 

नदीको बहावमा आधारित (रन अफ रिभर) को उक्त आयोजनाको विद्युतगृह आधा अन्डरग्राउड (भूमिगत) रहेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत बैंक कर्जा र ३० प्रतिशत प्रवद्र्धकको स्वपूँजी (इक्वीटी) रहेको छ । आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।


प्रतिक्रिया