संरक्षण अभावमा भूमिगत जल सिँचाइ अलपत्र

कार्तिक १८, २०७७ | (बुटवल

उपभोक्ता किसानको बेवास्ता र सरकारी मर्मत सम्भार अभावमा रुपन्देहीमा झण्डै साढे दुई अर्ब रुपैयाँ लागतको भूमिगत जल सिंचाइ अलपत्र परेको छ । २० हजार ३ सय हेक्टर जमिन सिँचाइ गर्ने उद्देश्यले रुपन्देहीमा निर्माण गरिएको भूमिगत जल सिँचाइ अलपत्र परेको हो । 

संरक्षण अभावमा सिँचाइ क्षेत्र घटेर १५ हजार हेक्टरमा खुम्चिएको भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका सूचना अधिकारी मोहनकुमार नेपालले बताउनुभयो । 

विश्व बैंकको दुई अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋण अनुदानमा विसं २०५८ सालमा भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ परियोजना निर्माण सम्पन्न भएको थियो । जसअन्तर्गत एक सय ६९ वटा डिप ट्युबेल निर्माण भएका थिए । 

एक सय ६९ वटा डिप ट्युबेल मध्ये हाल २० वटा पूर्ण रुपमा बन्द भएका छन् भने थप ४० वटाको क्षमता खस्किएको छ । १६ वटा आफै अर्थात् अटिजम सिष्टमबाट मात्र चलेको सूचना अधिकारी नेपालले जानकारी दिनुभयो ।

डिप बोरिङ सहित तीन वटा विद्युत सव स्टेशन निर्माण र करीब २ सय किलोमिटर कृषि सडक समेत ग्राबेल भएको थियो । तर, अधिकांश सडक भत्किएका छन् भने केही अतिक्रमणमा परेका छन् । भूमिगत सिँचाइ रुपन्देहीका १३ स्थानीय तहमा फैलिएको छ । 

ट्युबेल बन्द हुने र सिँचाइ क्षेत्र घट्दै जान थालेपछि ३ वर्षअघि संघीय सरकारले तीन वर्षे मर्मत योजना बनाएर १८ करोड ३३ हजार रुपैयाँ छुट्याएको थियो । लथालिंग अवस्थामा बन्द भएका सबै ट्युबेल मर्मत गरेर सञ्चालन गर्न केन्द्र सरकारले रकम उपलब्ध गराएको रकम पर्याप्त नभएको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया