कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णय फिर्ता लिन माग

पुस २१, २०७७ | काठमाडौं

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णय गलत भएको भन्दै फिर्ता लिन सरोकारवालाले माग गरेका छन् । 

डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गरी कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय फिर्ता गर्नुपर्ने माग गरेका हु्न् । 

कृषि क्षेत्रमा मुलुककै निजी क्षेत्रको अर्बौ रुपैयाँ लगानी रहेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै सरकारी निर्णय गलत भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा मुलुकको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताउनुभयो । निजी क्षेत्रका लगानीकर्तासँग कुने परामर्श नै नगरी किसानको हितविपरीत चालिएको कदम तत्काल फिर्ता लिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले निजी क्षेत्रले लगानी गरेर आधार तयार गरेको क्षेत्रमा प्रतिफल पाउने बेलामा वैदेशिक लगानी ल्याउनु गलत हुने बताउनुभयो ।

किसान अभियन्ता उद्वव अधिकारीले राजनीतिक अस्थिरता र जनप्रतिनिधिको प्रतिनिधिमूलक संस्था नभएको अवस्थामा सरकारले शंकास्पद तरिकाले कृषिमा वैदेशिक लगानी ल्याउने निर्णय गर्नु गलत भएको बताउनुभयो ।

मन्त्रिपरिषद्को निर्णयबाट सर्तसहित डेरी उद्योग, पशुपन्क्षी पालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारी लगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरी हिजो राजपत्रमा प्रकाशित गरिसकेको छ ।


प्रतिक्रिया