वैदेशिक व्यापारमा ५ प्रतिशतले वृद्धि

पुस २९, २०७७

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महिनामा मुलुकको व्यापार घाटामा करीब ११ प्रतिशतले सुधार देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि मंसिर महिनासम्मको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनमा अनुसार ५ महिनामा मुलुकको व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । 

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० दशमलव ९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ६ दशमलव ३ प्रतिशत थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महिना (साउन–मंसिरसम्म) मा मुलुकको वैदेशिक व्यापार ५ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा चालू आर्थिक वर्षको ५ महिनामा वैदेशिक व्यापार ५० अर्ब ६ करोड रुपैयाँले वृद्धि भएको उल्लेख छ ।

गत आर्थिक वर्ष सोही अवधिमा वैदेशिक व्यापार २७ दशमलव शून्य प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा छिमेकी मुलुक भारततर्फ वस्तु निर्यातमा ८ दशमलव ६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यातमा शून्य दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । तर, चीनतर्फको निर्यात ५५ दशमलव २ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्याङ्क छ । 

वस्तुगत आधारमा अलैंची, धागो, जुटका सामान, चाउचाउ, पश्मिना लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तयारी पोशाक, ऊनी गलैंचा लगायत वस्तुहरुको निर्यात घटेको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को ५ महिनामा कुल वस्तु आयात ९ दशमलव ६ प्रतिशतले घटेको छ । गत साउनदेखि मंसिरसम्म वस्तु आयातमा ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँले कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा वस्तु आयात ४ दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट हुने वस्तु आयात १ दशमलव १, चीनबाट २४ दशमलव ४ प्रतिशत र अन्य मुलुकबाट हुने आयात २० दशमलव ८ प्रतिशतले घटेको राष्ट्र बैंक जनाएको छ । 

वस्तुगत आधारमा कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दूरसञ्चारका सामान, अन्य मेसिनरी तथा पाटपुर्जा र कोइला लगागत वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । 

चालू खाता एवम् शोधनान्तर स्थिति :

समीक्षा अवधिमा चालू खाता २१ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाख रुपैयाँले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १६.० प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १०६ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाख रुपैयाँले बचतमा रहेको छ ।


प्रतिक्रिया