तरकारी तथा फलफूलमा विषादीको सीमा तोक्ने निर्णय कार्यान्वयनमा ढिलाई

माघ ७, २०७७ | काठमाडौं

सरकारले विदेशबाट आयातीत तरकारी तथा फलफूलमा विषादीको अधिकतम मात्रा तोक्ने निर्णय गरेपनि अझै कार्यान्वयनमा आएको छैन । आयातीत तरकारी तथा फलफूलमा विषादीको सीमा तोक्ने निर्णय भएको दुई महिना बित्न लाग्दा समेत राजपत्रमा प्रकाशित नभएका कारण कार्यान्वयनमा ढिलाई भएको हो । 

विषादी अवशेषको अधिकतम सीमा तोक्ने सम्बन्धी खाद्य पदार्थको गुणस्तर निर्धारण आदेश गत मंसिरको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि सो आदेश राजपत्रमा प्रकाशित भएपछि मात्र यसले थप आधिकारिकता पाउनेछ  । 

सरकारको निर्णयसँगै स्याउ, केरा, करेला, भन्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा तोक्ने बाटो खुलेको हो । फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । 

यसअघि आयातीत र स्वदेशी तरकारी तथा फलफूलका लागि विषादी मात्राको मापदण्ड थिएन । विषादी परीक्षणका लागि सबै प्रयोगशाला तयारी अवस्थामा रहेको भन्दै अब छिट्टै कार्यान्वयनमा जाने उहाँले बताउनुभयो । 

अहिले करीब २९ समूहका विषादी प्रयोग भइरहेको विभागका प्रवक्ता महर्जनले बताउनुभयो । ती विषादी तरकारी, फलफूल तथा अन्य बालीमा प्रयोग भईरहेका छन् । विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीको प्रयोग हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न मुख्य १० वटामा मात्रा तोक्ने निर्णय गरिएको हो ।


प्रतिक्रिया