बुटवल–नुवाकोटगढी केबलकार निर्माण सुरु

फाल्गुन ९, २०७७ | बुटवल

रुपन्देहीको बुटवलको फूलबारीबाट पाल्पाको पर्यटकीय क्षेत्र नुवाकोटगढी जोड्ने केबलकार निर्माण सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक विशेष समारोहकाबीच आइतबार केबलकारको शिलान्याश गर्नुभयो । 

शिलान्याश कार्यक्रममा अर्थमन्त्री पौडेलले केबलकार निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्धनमा ठूलो भूमिका खेल्ने बताउनुभयो । सिद्धबाबा केबुलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबुलकार निर्माण थालेको हो । 

एक किलोमिटर ९४ मिटर लम्बाईको केबलकार १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । सिद्धबाबा केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले ८० करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको बताउनुभयो । 

सिद्धबाबा केबलकार प्रालिमा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करीब १ सय जनाको लगानी छ । सरकारले केबलकार निर्माण क्षेत्रभित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि भोगाधिकारको स्वीकृति दिएको छ । 

 केबलकार निर्माणको काम १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो । केबलकारको एकतर्फी यात्रा समय आठ मिनेटको हुनेछ । जसमा २५ वटा गण्डोल हुनेछन् । जसमा सामान्यतया दैनिक ५ हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सकिने छ । 

क्षमता अभिवृद्धि गरेर दैनिक १० हजार पर्यटकलाई नुवाकोट लैजाने योजना छ । रुपन्देही र पाल्पा जिल्लाको सिमानामा रहेको नुवाकोट गढीमा त्यहाँको मनोरम प्राकृतिक दृश्यसँगै उत्तरतर्फ हिमश्रृंखला र दक्षिणतर्फ समथर फाँटहरु देख्न सकिन्छ ।


प्रतिक्रिया