प्रिसिजन मेज प्लान्टरले मकैको उत्पादन बढ्यो

प्रिसिजन मेज प्लान्टरबाट मकैको बीउ छर्दै जीतपुर सिमरा–११ खेस्रौलका किसान । साथै कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगञ्ज परिसरमा यसै उपकरणबाट लगाईको मकै बालीमा घोघा लाग्ने क्रममा ।  

चैत्र २८, २०७७ | पर्सा

जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका अगुवा किसान परमानन्द चौधरीले प्रिसिजन मेज प्लान्टरबाट मकै खेती गर्न लागेको ३ वर्ष भयो । परम्परागत खेती भन्दा यो मेसिनको मद्दतले मकै खेती गर्दा लागत करीब ४६ प्रतिशतले घटेको उनको अनुभव छ । 

‘मलाई त यो उपकरणले मकै खेती गर्दा धेरै फाइदा भयो,’ उनले भने, ‘५ बिघा खेतमा मकै बाली लगाउन मलाई एकातिर मजदुर नपाइने चिन्ता रहेन, अर्को तिर खेती लागत झण्डै आधाले घट्यो, त्यसमाथि उत्पादन पनि १० देखि १२ प्रतिशतले वृद्धि भयो ।’ 

परमानन्दकै छिमेकी किसान भानु चौधरीले पनि यो उपकरणको मद्दतले मकै खेती गरेको ३ वर्ष भयो । उनको अनुभव पनि परमानन्दकै जस्तो छ । ‘मलाई त हाई सन्चो भएको छ, यही उपकरणको मद्दतले करीब ४ बिघा खेतमा मकै बाली लगाएको छु,’ उनले भने, ‘उत्पादन राम्रो छ, मकै मेरो लागि अहिले नगदे बाली साबित भएको छ ।’

जिल्लाका झण्डै आधा दर्जन किसानले करीब १२ हेक्टर जग्गामा ४ पांग्रे ट्ेरक्टरबाट चल्ने तीन लाइनको मकै लगाउने मेसिन (प्रि सिजन मेज प्लान्टर) बाट मकै खेती गर्न थालेका छन् । उनीहरुलाई यो मेसिनबाट खेती कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगञ्जले प्रोत्साहित गरेको हो । 

हाल केन्द्रकै उपकरण लगेर किसानले मकै बाली लगाई रहेका छन् । अब आफै उपकरण खरिद गर्ने तयारीमा छन् । केन्द्रले चीनमा निर्मित यो उपकरणबाट ३ वर्ष आफ्नै परिसरमा परीक्षण बाली लगाएर किसानलाई सिफारिश गरेको हो । केन्द्रका प्रमुख वरिष्ठ इन्जिनियर सचिन कुमार मिश्राका अनुसार, २ लाख रुपैयाँ लागत पर्ने यो उपकरण किसानले व्यक्तिगत वा सामूहिक रुपमा पनि सहजै खरिद गर्न सक्छन् । 

तीन लाइनमा गहुँको बीउ छर्न सकिने र मल समेत बीउसँगै खसाल्न सकिने यो उपकरण ट्याक्टरमा जोडेर २ मजदुरले चलाउन सक्छन् । सामान्यतया लाइनदेखि लाइनको दूरी ६० सेमी हुने गरेकोमा मेसिनबाट यो दूरी थपघट पनि गर्न सकिन्छ । त्यसैगरी, बोटदेखि बोटको दूरी २५ सेमी हुने र ५ वटा विभिन्न दूरीमा बीउ खसाल्न सकिन्छ । 

कार्यालय तथा किसानको खेतमा समेत गरिएको परीक्षण उत्पादनमा ३५२२ हाइब्रिड जातको गहुँ प्रति हेक्टर ९ देखि १० टनसम्म उत्पादन भएको मिश्राले बताउनुभयो । ‘परम्परागत विधिले मकै खेती गर्दा प्रति हेक्टर उत्पादन ७ देखि साढे ७ टन मात्र हुने गरेकोमा यो उपकरणको मद्दतले मकै खेती गर्दा उत्पादन झण्डै १२ प्रतिशतले बढन गयो,’ उहाँले भन्नुभयो, ‘मजदुरको अभाव र जलवायु परिवर्तनले बालीनालीको उत्पादन घट्दो क्रममा रहेको बेला यान्त्रिकरणले किसानलाई बढी लाभ भईरहेको छ ।’ 

यो उपकरण धेरै महँगो नभएकाले स्थानीय तहले किसानलाई प्रोत्साहित गर्न समूहमा उपकरण खरिदका लागि सामूहिक अनुदान दिए धेरै किसानको पहुँचमा पुग्ने कृषि औजार अनुसन्धान केन्द्रका प्रमुख मिश्राले बताउनुभयो । केन्द्रले पहिलो पटक यो उपकरण नेपाल भित्र्याएकोमा हाल नेपाल भरी १५ वटाको संख्यामा यो उपकरण किसानले खरिद गरी सकेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया