बजेट कार्यान्वयन हुनेमा शंका नगर्नुहोस् : अर्थमन्त्री पौडेल

जेष्ठ १६, २०७८ | काठमाडौं

अर्थमन्त्री बिष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आज अर्थमन्त्रालयलमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएकाले कार्यान्वयन हुनेमा शर्का नगर्न आग्रह गर्नुभएको हो ।

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनुभयो । भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने उहाँको दाबी छ ।

उहाँले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने पनि बताउनुभयो । कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गरेकोप्रति अर्थमन्त्री पौडेलले संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको दाबी गर्नुभयो ।

बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पूर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिबद्धताका साथ सरकार प्रस्तुत भएको उहाँले उल्लेख गर्नूभयो । अर्थमन्त्री पौडेलले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको पनि दाबी गर्नुभयो ।  


प्रतिक्रिया