बजेटका सबै कार्यक्रम कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

असार ८, २०७८ | काठमाडौं

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । होटल संघ नेपालको सुझावपत्र बुझेपछि अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गर्नु भएको हो । 

बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपल्बध गराइने उल्लेख गरिएको भन्दै उहाँले कोभिड-१९ का बेला यो भन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको बताउनुभयो । मन्त्री पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रमहरु कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । 

आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने, कोभिड-१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायत पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नु पर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वत: नवीकरण हुने व्यवस्था गरिएको उल्लेख छ ।

यस्तै, होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड-१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेशन सेन्टरका रुपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार रकम उपलब्ध गराउने लगायत उल्लेख गरिएको छ । 

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामुलक उद्योगमा राख्नु ठूलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएको सुझाव बजेटमा सम्बोधन हुनु सकारात्मक भएको बताउनुभयो । 

संघले सरकारलाई २०७८/७९ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्था र उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए/नभएको अनुगमन गर्नुपर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनुपर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनु पर्ने लगायत सुझाव दिएको छ ।


प्रतिक्रिया