हुलाकी सडक निर्माणपछि आकाशियो जग्गाको मूल्य

वीरगञ्ज–ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिका रहेका हुलाकी सडक । तस्बिर : शंकर आचार्य/रेडियो कान्तिपुर । 

आश्विन २८, २०७८ | पर्सा

वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माण भएसँगै पर्साको ग्रामीण भेगका जग्गाको मूल्य बढेको छ । सडक निर्माणको चर्चासँगै सो सडकखण्डले छोएका जग्गाको खरिद बिक्री सुरु भएकोमा हाल सडक निर्माण सम्पन्न भएलगत्तै जग्गा खरिद बिक्री ह्वात्तै बढेको छ । 

सडकले छोएको वीरगञ्ज महानगरपालिकादेखि सखुवा प्रसौनी, जिराभवानी र ठोरी गाउँपालिका सम्मै जग्गाको मूल्य बढेको छ । जीराभवानी गाउँपालिका–१ निवासी रामशरण खवास थारुले हाल सबै भन्दा बढी ठोरी गाउँपालिका–५ बागमोर्चा/केराबारी क्षेत्रमा जग्गाको खरिद बिक्री भई रहेको बताए । 

‘सबै भन्दा बढी बागमोर्चा/केराबारी क्षेत्रमा जग्गाको खरिद बिक्री भई रहेको छ, विगतमा प्रति कठ्ठा ५ हजार रुपैयाँमा समेत बिक्री नहुने खेत/घडेरी अहिले प्रतिकठ्ठा ५ देखि ६ लाख रुपैयाँ हानाथाप भई रहेको छ,’ उनले भने, ‘यस भेगमा बसोबासदेखि उद्योग स्थापना तथा पर्यटनको सम्भावना देखेर पनि जग्गाको माग अत्यधिक बढेको हो ।’

३ वर्ष यता हुलाकी सडकले छोएको जग्गाको फाट्टफुट्ट खरिद बिक्री हुँदै आएकोमा अहिले भने खरिद बिक्री ह्वात्तै बढेको ठोरी–४ विजयबस्तीका अजैवीनाथ गौरो बताउँछन् । ‘अहिले वीरगञ्ज, सिमरा, चितवन र काठमाडौंका व्यापारी तथा उद्योगीहरु पनि ठूलो जग्गाको प्लट खोज्न आई रहेका छन्,’ उनले भने, ‘हाउजिङ्ग तथा प्लटिङ्ग गर्ने व्यापारीहरु पनि एकमुष्ट रुपमा धेरै जग्गा खरिद गर्न खोजी रहेका छन् ।’

२०६२/०६३ साल तिर हुलाकी सडकको जग्गाको नापी मात्र हुँदा त्यति बेला प्रति कट्ठा ५ हजार रुपैयाँमा पनि यस भेगमा जग्गा खरिद गर्ने कोही ग्राहक नपाउनेमा अहिले हानाथाप भई रहेको उनले बताए । 

‘हुलाकी सडक निर्माण भएपछि सडकले छोएका जग्गा धनीहरुको कायापलटनै भएको छ,’ उनले भने, ‘धेरै जग्गा हुनेहरुले थोरै जग्गा बिक्री गरेर अन्यत्र ठूलो परिमाणमा खेती योग्य जग्गा खरिद गरेका छन्, धेरैले सदरमुकाम वीरगञ्ज, सिमरा, हेटौंडा देखि काठमाडौं सम्म घर/घडेरी जोडी सकेका छन् ।’

गौरोले हुलाकी सडक निर्माण भएपछि जग्गाको मूल्य बढेको मात्र नभई यस भेगका बासिन्दालाई सदरमुकाम वीरगञ्ज तथा सिमरा, काठमाडौंसम्म आवागमनमा सहजता भएको बताए । त्यसका साथै यस भेगमा उत्पादन हुने कृषि उपजहरुले बजार समेत पाउन थालेको उनले बताए । 

‘सडक निर्माण हुनु अघि हामी सदरमुकाम वीरगञ्ज पुगेर घर फर्कन पुरै दिन खेर जान्थ्यो,’ उनले भने, ‘अहिले मुश्किलले आधा घण्टा देखि ४५ मिनेटमा सहजै घर समेत फर्किन पाएका छौँ, सडकले वास्तवमा यस भेगका बासिन्दाको समग्र जनजीवनमै ठूलो परिवर्तन ल्याई रहेको छ, विगतमा दुर्गमको रुपमा चिनिने यी भेग अहिले सुगम स्थानमा रुपान्तरित हुँदै छन् ।’


प्रतिक्रिया