नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी

आश्विन ३१, २०८२ | काठमाडौं
ललितपुरमा जारी एमालेको केन्द्रीय कमिटीको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । केहीबेर अघि जावलाखेलमा सुरु बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि सदस्यहरुले आज बोली सके बैठक आजै सक्ने तयारी छ ।
यसअघि दुई दिन बोलेका सदस्यमध्ये अधिकांसले नेतृत्व हस्तान्तरणका लागि अध्यक्षले बाटो खुल्ला गर्ने देखि विदेशी शक्तिको घुसपैठका विषयमा कुरा उठाएका छन् । अध्यक्षको राजनीतिक प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा तत्कालिन प्रधानमन्त्रीका हैसियतमा अध्यक्षले सामान्य आत्माआलोचना नभएकोमा भन्दै आलोचना गरेका थिए ।
त्यस्तै अध्यक्षले भनेजस्तो नेपालमा हस्तक्षेप गर्ने विदेशी शक्ति किटान गर्नु पर्ने आवाज बैठकमा उठेको छ । वर्णानुक्रम अनुसार हरेक सदस्यलाई तीन मिनेटको समय छुट्याइएको छ । तीन मिनेट भएपछि माइक स्वतः काटिने व्यवस्था गरिएको छ । हिजोसम्म १ सय ८४ जनाले धारणा राखेका छन् । केन्द्रीय कमिटीमा ३ सय ६७ सदस्य छन् । सबैले बोलिसकेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिनुहुनेछ ।