प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापारको लागि अनुमति

पुस ९, २०७८ | काठमाडौं
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले विद्युत व्यापारको लागि अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री पम्फा भुसालले नेपाल पावर ट्रेडिङ कम्पनी (एनपीटीसी) लाई उक्त अनुमति दिइएको जानकारी गराउनुभएको हो । मन्त्रालयको प्रस्तावमा सरकारले एनपीटीसीलाई अनुमति दिएको हो ।
छिट्टै निजी क्षेत्रलाई पनि यस्तो लाइसेन्स दिने तयारी भइरहेको मन्त्री भुसालले बताउनुभयो । विद्युत् व्यापार कम्पनी स्थापनाका लागि अहिलेको कानूनी व्यवस्था स्पष्ट छैन । त्यस्ता कम्पनीलाई कुन निकायले अनुमति दिने र नियमन गर्ने भन्ने विषयमै अन्योल थियो ।
ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी मात्र नभई निजी क्षेत्रलाई पनि यस्तो अनुमति दिन सकिने बताउँदै आए पनि त्यसको कानुनी आधार बनिसकेको छैन । पछिल्लो यो अनुमति मन्त्रिपरिषद्को विशेष अधिकारबाट दिइएको मन्त्री भूषालले जानकारी दिनुभयो । प्राधिकरणले आफ्नो सहायक कम्पनीका रूपमा एनपीटीसीलाई २०७३ फागुन २४ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको थियो ।