मलेसियाले नेपाल लगायतका देशबाट श्रमिक भर्ना गर्ने प्रक्रिया सुरु गर्ने

रेडियो कान्तिपुर संवाददाता

माघ १, २०७८ | काठमाडौं

मलेसियाले नेपाल लगायतका देशबाट श्रमिक भर्ना गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार जनवरी २८ र फेबु्रअरी १५ बाट भर्ना प्रक्रिया सुरु गर्न लागिएको हो ।

 मलेसियाले २०७६ को चैतको पहिलो सातादेखि नेपाल लगायतका देशबाट श्रमिक भर्ना बन्द गरेको थियो । जनवरी २८ बाट पाम आयल क्षेत्रमा ३० हजार जनालाई तथा उत्पादन, सेवा, सुरक्षा र घरेलु श्रमिकका लागि फेब्रअरी १५ बाट भर्ना प्रक्रिया सुरु गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । 

 मलेसियाले सबै मापदण्ड तय गर्नुका साथै क्वारेन्टाइन बनाएपछि श्रम स्रोत देशबाट श्रमिक भित्र्याउन अनुमति दिएको हो । मलेसिया जाने श्रमिकले नेपालमा विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त कोरोना खोप लगाइसकेको हुनुपर्ने, ७२ घण्टाभित्र श्रमिकले पीसीआर परीक्षण गर्नुपर्ने र मलेसिया पुगेपछि ७ दिन अनिवार्य स्वास्थ्य मन्त्रालयबाट तोकिएको क्वारेन्टाइनमा बसेर पाँचौ दिन पीसीआर गर्नुपर्ने लगायतका शर्तहरु तोकिएका छन् । कोरोनाअघि मलेसियामा झन्डै चार लाख नेपाली कार्यरत थिए ।


प्रतिक्रिया