बागमति प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च

रेडियो कान्तिपुर संवाददाता

वैशाख २२, २०७९ | काठमाडौं

चालु आर्थिक वर्ष २०७८/७९ मा बागमति प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च देखिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन सम्बन्धी प्रतिवेदनअनुसार बागमति प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर सबैभन्दा बढी देखिएको हो । प्रतिवेदन अनुसार चालु आवमा यस प्रदेशको जीडीपी ६ दशमलव ७४ प्रतिशतले बढेको छ । 

गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६ दशमलव १७, कर्णालीको ५ दशमलव ४७, प्रदेश १ को ५ दशमलव ४१, लुम्बिनीको ५ दशमलव ३६, सुदूरपश्चिमको ४ दशमलव ९३ र मधेश प्रदेशको ४ दशमलव ८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादनमा पनि बागमति प्रदेशको हिस्सा ३६ दशमलव ९, प्रदेश १ को १५ दशमलव ७, लुम्बिनीको १४ दशमलव १, मधेशको १३ दशमलव २, गण्डकीको ८ दशमलव ९, सुदूरपश्चिमको ७ र कर्णाली प्रदेशको ४ दशमलव १ प्रतिशत रहेको छ । 

यस आर्थिक वर्ष देशको कुल गार्हस्थ्य उत्पादन ५ दशमलव ८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष ४ दशमलव २ प्रतिशतले बढेको थियो । यस आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया