१४ वर्षपछि विराटनगर ताप्लेजुङ परीक्षण उडान

मंसिर १५, २०७९ | ताप्लेजुङ

नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ । निगमले नियमित उडान बन्द गरेको १४ वर्षपछि बिहीबार विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको हो । 

परीक्षण उडान गरेपनि नियमित उडानको भने टुंगो लागेको छैन । स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको थियो । 

सिनियर पाइलट पेम्बा शेर्पा र मनिश विष्टले उडान भरेको निगमले जनाएको छ । प्रदेश राजधानी विराटनगर उडान गर्न जिल्लाका नागरिकले माग गर्दै आएका थिए । २०३२ सालमा निर्माण भएको विमानस्थलमा २०६५ सालसम्म विराटनगर–ताप्लेजुङ मात्रै उडान हुँदै आएको थियो । 

काठमाडौं–ताप्लेजुङ उडान गर्न थालेपछि निगमले विराटनगरको उडान स्थगित गरेको थियो । बिहीबार र शनिबार गरी सातामा दुई दिन काठमाडौं–ताप्लेजुङ उडान गर्दै आएको निगमले विराटनगरको नियमित तालिका भने बनाएको छैन । 

काठमाडौं–ताप्लेजुङ, ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान गरेको तारा एयरले गत वर्षदेखि नियमित उडान नगरेको कारण यात्रुहरुले घण्टौं सडकमार्गको प्रयोग गर्नुपर्ने वाध्यता छ । निगमले विराटनगरबाट १३ र ताप्लेजुङबाट १५ जनासम्म यात्रु बोक्ने गरेको छ । ताप्लेजुङमा फ्यूल नभएका कारण कम यात्रु लिएर फ्यूल भरेर आउने गरेको हो । 


प्रतिक्रिया