सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य निर्विरोध

फाल्गुन १७, २०८१ | तिलोत्तमा

रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ कार्यकालका लागि अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । आगामी फागुन २४ गते शनिबार हुने संघको अधिवेशनका लागि शुक्रबार भएको मनोनयन दर्तामा उपाध्यक्ष (वाणिज्य) र सह–कोषाध्यक्ष बाहेक पदाधिकारी तर्फका अन्य पद निर्विरोध रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले जानकारी दिनुभयो । 

संघको अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलिप प्रसाद कान्दु, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल र उपाध्यक्ष (उद्योग) मा गोविन्द ज्ञवाली निर्विरोध निर्वाचित हुनु भएको छ । 

त्यस्तै, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित हुनुभयो । संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित हुनु भएको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिनुभयो । 

उपाध्यक्ष (वाणिज्य) मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दिपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसैगरी सह–कोषाध्यक्षमा संजय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ । १ जना सदस्य महिला (वाणिज्य) सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । सो पदमा सुनयना केसी गिरी र मिना पन्थीले उम्मेदवारी दिनु भएको छ । 

सदस्य (महिला) मा विष्णु माया शर्मा पौडेलको मात्र उम्मेदवारी परेको छ । १० जना वाणिज्य सदस्यका लागि १९ जनाको उम्मेदवारी परेको छ भने पाँच जना उद्योग सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको ६६ औं साधारणसभा तथा अधिवेशन यही फागुन २३ र २४ गते भैरहवामा हुने भएको छ । 


प्रतिक्रिया